विराटनगर । एकिकृत जाँच चौकी (आईसिपी) विराटनगरको व्यवस्थापन हेर्न नयाँ कम्पनी भित्रिएपछि त्यसको सफ्टवेयर सिस्टम अपलोड हुन समय लाग्दा जाँचपासमा असर परेको छ । भन्सार क्षेत्रमा मालवहाक बोकेर प्रवेश गर्ने सवारी र जाँचपासपछि बाहिरीने मालवहाक सवारीको विवरण अनलाइन प्रणालीमा प्रविष्टी गर्न नसक्दा आईसिपी परिसरमा सवारी व्यवस्थापनमा असहज बनेको हो ।
ट्रान्स नेपाल फ्रेट सर्भिसेजले व्यवस्थापनको जिम्मा लिइरहेको आईसिपी विराटनगरमा ट्रान्स नेपाल टिआएस लोजी पार्क प्रा.लि. समेत भेन्चर्ज भएर भित्रिएको छ । यसका प्रतिनिधि रबिकान्त विद्यार्थी भन्सारको आशिकुडा र राजस्वको आइआरडीले नयाँ सफ्टवेयरलाई एप्रुभल नगर्दाको समस्या मात्रै रहेको बताउँछन् । कम्पनी नयाँ भएपछि त्यसको सफ्टवेयर पनि नयाँ हुन्छ, देशका अन्य पाँच भन्सारमा प्रयोग भइरहेकै सफ्टवेयर भएपनि आईसिपी विराटनगरका लागि नयाँ हुनपुग्दा अलिअलि समस्या परेको हो ।
विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्माले तयारी नगरी सेवा दिदाँ उत्पन्न परिस्थितिले भद्रगोल सिर्जना गरेको आरोप लगाएका छन् । शर्माका अनुसार भन्सार क्षेत्रमा सफ्टवेयरको समस्या देखाएर पार्किङ नपाउँदा मालवहाक सवारीको जाम लागेको छ । अध्यक्ष शर्माका अनुसार मंगलबारदेखिनै यो समस्या देखिएको हो, बुधबार साँझसम्म पनि कायम रहेकोले बिहीबारलाई समेत सवारी व्यवस्थापनमा समस्या हुने अनुमान गर्न सकिन्छ ।
विराटनगर भन्सार कार्यालयका अधिकृत एवं सुचना अधिकारी विमल कुमार साहले जाँचपासमा कुनै समस्या नरहेपनि मालवहाक सवारी व्यवस्थापनमा अवरोध भएको बताएका छन् । उनले यो समस्या लामो नजानेमा ढुक्क रहेको बताए ।
मालवस्तु बोकेका सवारी आईसिपी परिसर भित्रँदा त्यसको वजन लिने र सफ्टवेयरमा प्रविष्ट गर्ने काम व्यवस्थापन हेर्ने कम्पनीले गर्दछ । किनकी व्यवस्थापन गर्ने कम्पनीले यस्ता सवारीसँग शुल्क लिन्छ । त्यसका आधारमा उसले पार्किङ्ग लगायतका सेवा दिनुपर्ने हुन्छ । भन्सारले जाँचपास गरिसकेका मालवहाक सवारी बाहिर निस्कदाँ समेत यहि कम्पनीले रेकर्ड राख्नुपर्ने हुन्छ । यी दुवै प्रक्रियामा कम्प्यूटर प्रणाली अपनाइन्छ । अनि गेटपास समेत उपलब्ध गराउने गरिन्छ ।
आईसिपी परिसरमा भित्रदाँ २८५ र पार्किङमा ४२८ रुपिँया शुल्क बुझाउनुपर्ने हुन्छ । धमाधम जाँचपास गरेर बाहिर निस्कन नसक्दा सवारीहरुको पार्किङ शुल्क दैनिक बढ्छ । नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गत रहने आईसिपीको व्यवस्थापन निजी कम्पनीलाई दिइन्छ । आईसिपी विराटनगरसम्म कार्गो रेल आउँदा त्यसको व्यवस्थापन गर्ने क्षमता विकास गर्ने गरी नयाँ कम्पनी भित्रिएको दावी गरिएको छ ।
सफ्टवेयरमा समस्या देखिएर मालवहाक सवारी रोक्नु परेपछि कम्पनीका प्रतिनिधि र भन्सार एजेन्ट संघबीच बुधबार दिउँसो दोहोरो भनाभन भएको थियो । साँझसम्म दुवै पक्ष पर्ख र हेरको स्थितिबाट दिन गुजार्नु परेको एजेन्ट संघका अध्यक्ष शर्मा बताएका छन् ।