संखुवासभा । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेका तर्फबाट संखुवासभाका उम्मेदवार डा.अर्जुन कार्कीले संखुवासभाले सिङ्गो नेपाललाई पाल्न सक्ने दाबी गरेका छन् ।
हालै चुनावी अभियानका क्रममा माङ्सिमा र मकालु क्षेत्रमा पुगेर स्थानीयहरुसँग साक्षात्कार गर्दै उनले भने,‘म संखुवासभालाई देश तथा बिदेशमा चिनाएर जिल्लाबासीका निम्ति दुःख–सुखमा साथ दिन चाहन्छु । हाम्रो जिल्लाले सिंगो नेपाललाई पाल्न सक्छ । संखुवासभा जलविद्युतको राजधानी हो, यहाँको जलविद्युतबाट सिंगो नेपाललाई पाल्न सक्छौं भन्नेमा विश्वास दिलाउन चाहन्छु । नेपाल बनाउने काममा म भूमिका निर्वाह गर्न चाहन्छु, यसका लागि मलाई विजयी गराउनुहोला ।’
विगतका काम, सामाजिक विकासमा योगदान र वर्षौंदेखिको सम्बन्धलाई स्मरण गर्दै उनले चुनावका बेला मात्रै होइन, वर्षौंदेखिको सहकार्य र विश्वासको सम्बन्ध कायम राख्ने पनि बताए ।
आफू जिते पनि हारे पनि सधैं जनताको साथमै रहने विश्वास व्यक्त गरे । उनले विकास, सुशासन र जनउत्तरदायित्वलाई प्राथमिकता दिने प्रतिबद्धता पनि जनाए ।
एमालेबाट उम्मेदवार बनेका डा.कार्की नेपालका अनुभवी कूटनीतिज्ञ, विकास चिन्तक तथा लोकतान्त्रिक अभियन्ता हुन् । संखुवासभामा जन्मे हुर्केका उनले तीन दशकभन्दा बढी समयदेखि गरिबी निवारण, सामाजिक न्याय, लोकतन्त्र, मानव अधिकार र दिगो विकासका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।
डा कार्कीले नेपाल सरकारको तर्फबाट संयुक्त राज्य अमेरिका तथा ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रका विभिन्न देशहरूमा राजदूतका रूपमा सेवा गर्दै नेपालको सार्वभौमिकता, कूटनीतिक सम्बन्ध र राष्ट्रिय हित प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएका छन् ।
साथै उनले राष्ट्रिय विकास परिषद्को सदस्य रहिसकेका उनले सन् २००६ मा नेपालमा लोकतन्त्र पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय स्तरमा सक्रिय पैरवी गरेका थिए । गरिबी, असमानता, भूमि अधिकार, कृषि सुधार, सामाजिक समावेशीकरण तथा शान्ति निर्माणका विषयमा उनले सशक्त आवाज उठाउँदै आएका छन्।