विराटनगर । विराटनगरमा रहेको मोर्डन एरा स्कुलले आफ्नो स्थापनाको २५ औँ वर्ष पुगेको अवसरमा ‘रजत जयन्ती’ तथा अभिभावक दिवस मनाउन सुरु गरेको छ। आज शुक्रबारदेखि विद्यालय परिसरमा दुई दिने विशेष कार्यक्रम आयोजना गरी रजत जयन्ती मनाउन सुरु गरिएको हो।



रजत जयन्तीको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कोइरालाले अबको शिक्षा गुणस्तरीय मात्र नभई रोजगारमुखी हुनुपर्नेमा जोड दिए । ‘आगामी दिनमा विद्यार्थीहरूलाई प्रविधियुक्त शिक्षासँगै सीप र संस्कारसँग जोडेर अगाडि बढाउनु आवश्यक छ,’ उनले भने । विद्यालयका प्रिन्सिपल इन्द्र राईले मोर्डन एराले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाका साथै सीप र संस्कारसहितको व्यावहारिक ज्ञान प्रदान गर्दै आएको बताए । ‘हामीले विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय बनाउँदै आएका छौँ, जसका कारण उनीहरूले हरेक क्षेत्रमा सफलता प्राप्त गरिरहेका छन्,’ प्रिन्सिपल राईले भने ।



उनका अनुसार विद्यालयमा हाल नर्सरीदेखि कक्षा १० सम्म ९५० जना र कलेजतर्फ ३५० जना गरी कुल १ हजार ३ सयभन्दा बढी विद्यार्थीहरू अध्ययनरत् छन्। विद्यालयलाई मन्टेश्वरी पद्धतिबाट सञ्चालन गरिएको र विद्यार्थीको चौतर्फी विकासका लागि बिहानदेखि साँझसम्म विभिन्न शैक्षिक गतिविधि हुने गरेको जानकारी समेत उनले दिए । रजत जयन्तीको पहिलो दिन विद्यार्थीहरूले आकर्षक नृत्य, गीत र कविता वाचन प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको प्रतिभा देखेर सहभागी अभिभावक तथा अतिथिहरू मन्त्रमुग्ध भएका थिए। रजत जयन्ती तथा अभिभावक दिवसको समापन शुक्रबार गरिने विद्यालय प्रशासनले जनाएको छ ।