विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा मंगलबारदेखि दुई दिने शैक्षिक प्रदर्शनी सुरु भएको छ । पहिलो दिन एल केजी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुले आ–आफ्नो प्रदर्शनी गरेका छन् । वर्षभरि पाठ्यक्रममा पढेका विषयवस्तुहरूलाई व्यवहारिक रुपमा के सिकियो भन्ने कुरालाई विभिन्न प्रोजेक्ट मार्फत प्रस्तुत गरेका हुन् ।
विभिन्न विषयका परियोजनाहरु अभिभावकलाई देखाउँदै उनीहरुले गरेको ब्रिफिङ सुन्दा अभिभावकहरु दङ्ग देखिन्थे । कृयाकलापमा आधारित सिकाई पद्धति अवलम्वन गर्दै आएको एभरेष्ट स्कुलले मन्टेश्वरी तहमा थिम बेसमा अध्यापन गराउँदै आएको छ भने कक्षा २ देखि माथि पाठ्यक्रममा आधारित शिक्षा प्रदान गर्दै आएको छ । सोही अनुसारका कृयाकलापहरूलाई विद्यार्थीहरुले अभिभावकलाई देखाएका हुन् । उनीहरुले विभिन्न खेल खेलाउँदै उपहार दिँदै अभिभावकहरुलाई मनोरञ्जन समेत गराएका छन् ।
बालबालिकाको प्रदर्शनी अवलोकन गर्नुभएका अभिभावक डा. नन्दकिशोर चौधरीले बालबालिकाले बनाएका परियोजना र उनीहरुले गरेको ब्याख्या राम्रो लागेको बताएका थिए । अर्की अभिभावक रुपा श्रेष्ठले विभिन्न खेल खेलाउँदै बालबालिकाले बुझाएको हेर्दा र खेल मार्फत पढेका कुरा जान्न पाउँदा रमाइलो लागेको बताइन् ।
विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले बालबालिकाले कक्षा कोठामा सिकेका कुराहरुलाई कृयाकलाप मार्फत प्रस्तुत गर्ने प्ल्याटर्फको रुपमा यो प्रदर्शनी रहेको बताएका छन् । यसले बालबालिकामा आत्मविश्वास अभिवृद्धि गर्दै सृजनशील बनाउन सहयोग पुग्ने उनले बताए ।
मन्टेश्वरी इन्चार्ज आरती घिमिरेले बालबालिकाले गर्ने स–साना कामहरुलाई सिकाएको व्यवहारिक रुपमा प्रस्तुत गर्ने बताइन् । यस्तै प्रदर्शनीको अवसरले धेरै उत्साही बनाएका विद्यार्थीहरुको भनाई छ । एभरेष्टले हरेक वर्ष प्रदर्शनी गराउँदै आएको छ । कक्षा ६ देखि माथिको प्रदर्शनी भने बुधबार हुने विद्यालयले जनाएको छ ।