सोनु साह
विराटनगर । विराटनगर महानगरपालिका–१२ अन्तर्गत बखरीको भीमचोकदेखि मनहनुवा हुँदै सम्पन्न बस्ती जाने सडक दशकौंदेखि निर्माण हुन नसक्दा स्थानीय बासिन्दा मारमा परेका छन्। संघीयता स्थापना भएसँगै गाउँ–टोलको शिक्षा, स्वास्थ्य, सडक र नदी–नालाको तीव्र विकास हुने अपेक्षा राखेका सर्वसाधारण अहिले निराश बनेका छन्।
संघीय शासन व्यवस्था लागू भएको करिब १० वर्ष बित्न लाग्दा पनि यस क्षेत्रका बासिन्दाले आधारभूत पूर्वाधारको अनुभूति गर्न नसकेको गुनासो गरेका छन्। मुख्य सडक नै कालोपत्रे नहुँदा शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रको विकाससमेत प्रभावित भएको स्थानीयहरूको भनाइ छ।
धुलाम्य सडकले बढायो स्वास्थ्य जोखिम
भीमचोकदेखि सम्पन्न बस्ती जोड्ने सडक वर्षौंदेखि धुलाम्य अवस्थामा छ। दिनहुँ सयौं संख्यामा स्कुल बस, मोटरसाइकल र सिटी सफारी गुड्ने यस सडकमा धुलो उड्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। कतिपयले आफ्नै पहलमा सडकमा पानी छर्केर धुलो नियन्त्रण गर्ने प्रयास गरे पनि अधिकांश बासिन्दा दिनभर मुख छोपेर बस्न बाध्य छन्।
स्थानीय मुकेश कामतका अनुसार मनहनुवा क्षेत्रमा अहिलेसम्म कालोपत्रे सडक बनेको छैन। “स्थानिय सरकारले बाटोमा पानीसमेत कहिल्यै छरेको छैन। धुलोका कारण घरभित्रको खाना बिग्रन्छ, सरसफाइ गर्नै मुस्किल हुन्छ, महिनैपिच्छे स्वास्थ्य समस्या देखिन्छ,” उनले गुनासो गरे।
अधूरो नाला, डुबान र संक्रमणको त्रास
सडकसँगै निर्माण थालिएको नाला आधैमा छाडिएको स्थानीयको आरोप छ। जमेको पानीका कारण किराफट्यांग्रा बढेर घरभित्रै बस्न थालेको उनीहरू बताउँछन्। वर्षायाममा सिघिया खोलाको बाढीले समेत गाउँ डुबानमा पर्ने गरेको छ, जसले थप सास्ती दिने गरेको स्थानीयको भनाइ छ।
चन्द्रेश्वर प्रसाद यादवका अनुसार विगतमा बाटो नहुँदा बिरामी बोकेर अस्पताल लैजान निकै समस्या हुने गरेको थियो। “हाम्रो क्षेत्रको राम्रो नेतृत्व नभएकै कारण समस्या समाधान हुन सकेन,” उनले भने, “१० वर्षदेखि उही अनुहार देख्यौं, तर विकास देख्न पाएनौं। यसपटक सक्षम नेतृत्व रोज्नेछौं।”
राजनीतिक दलप्रति बढ्दो असन्तुष्टि
स्थानीय नागेश्वर सहनी भन्छन्, “हामीले एमाले र कांग्रेस दुवै पार्टीका उम्मेदवारलाई जितायौं, तर समस्या जस्ताको त्यस्तै छ।” उनका अनुसार यस क्षेत्रको सबैभन्दा ठूलो समस्या नै सडक हो। वर्षामा बाढी र हिउँदमा धुलोले सताउने गरेको उनले बताए।
विराटनगर महानगरपालिका भित्रै पर्ने क्षेत्रको अवस्था यस्तो हुनु दुःखद रहेको स्थानीयको भनाइ छ। स्थानीय तहदेखि केन्द्र सरकारसम्म कसैले चासो नदेखाएको उनीहरूको आरोप छ। राजनीतिक दलहरूप्रति विश्वास गुम्दै गएको र बासिन्दा आक्रोशित बनेको देखिन्छ।
फागुन २१ मा हुने निर्वाचनको प्रतीक्षा
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लिएर यस क्षेत्रका मतदाता नयाँ विकल्प खोज्ने मनस्थितिमा देखिन्छन्। क्षेत्र नम्बर ६ का मतदाताले यसपटक पुरानै नेतृत्व दोहोर्याउने कि नयाँलाई अवसर दिने भन्ने निर्णय मतपेटिकामार्फत गर्नेछन्।
स्थानीयको एउटै माग छ—भीमचोकदेखि सम्पन्न बस्ती जोड्ने मुख्य सडक यथाशीघ्र कालोपत्रे गरियोस्, अधूरा नाला सम्पन्न गरियोस् र शिक्षा–स्वास्थ्य क्षेत्रमा देखिएको कमजोरी सुधारियोस्। अन्यथा, विकासको आशा केवल नारामै सीमित रहने उनीहरूको चेतावनी छ।