मोरङ । चुनाव नजिकिँदै जाँदा दल तथा उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । झण्डा–पर्चा–ब्यानर, माइकिङ्ग, डि जे तथा घरदैलो कार्यक्रममार्फत मतदातासम्म पुग्ने क्रम बढ्दो छ । निर्वाचन आयोगले तोकेको आचारसंहिताभित्र रहेर फागुन ४ गतेदेखि १९ गतेसम्म प्रचारप्रसार गर्न पाउने व्यवस्था छ भने मतदान फागुन २१ गते हुनेछ ।
तर प्रचारप्रसारको शैलीप्रति स्थानीयवासी असन्तुष्ट देखिएका छन् । विशेषगरी डि जे मार्फत गरिने उच्च ध्वनिको प्रचारले ध्वनी प्रदूषण बढाएको भन्दै आलोचना भइरहेको छ । बिहानदेखि बेलुकासम्म बज्ने ठूलो आवाजका कारण विद्यालयका विद्यार्थी, अस्पतालका बिरामी, कार्यालयका कर्मचारी, व्यापारी तथा बालबालिका प्रभावित हुने गरेको स्थानीयहरूको गुनासो छ ।
मोरङका स्थानीय वीरेन्द्र श्रेष्ठका अनुसार डि जे बजाएर गरिने प्रचार निकै असहज र समस्या सिर्जना गर्ने खालको भएको बताए । “बिरामीलाई ठूलो आवाजले झन् समस्या हुन्छ, समाजमा आतंकजस्तो वातावरण बन्ने गरेको छ,” उनले भने । उम्मेदवारहरूले घरदैलोमार्फत प्रत्यक्ष भेटघाट र संवाद गर्नु नै उपयुक्त हुने उनको सुझाव छ । अहिलेको पुस्ता सामाजिक सञ्जालमा बढी सक्रिय रहेकाले डि जेभन्दा डिजिटल माध्यम प्रभावकारी हुने उनले बताए ।
निरज जोशीले पनि ठूलो स्वरमा गीत बजाएर प्रचार गर्नु राम्रो अभ्यास नभएको बताए । “ठाउँ–ठाउँमा भेटघाट, कोणसभा र घरदैलो कार्यक्रम प्रभावकारी हुन्छ,” उनले भने । सामाजिक सञ्जालमार्फत सन्देश प्रवाह गर्नु अहिलेको आवश्यकता भएको उनको धारणा छ ।
सुबोध सिंहका अनुसार समयअनुकूल प्रचारशैली परिवर्तन आवश्यक छ । “यो डिजिटल युग हो, ध्वनी प्रदूषण फैलाउनेभन्दा सामाजिक सञ्जाल प्रयोग गर्नु राम्रो,” उनले भने । उम्मेदवारहरूले सबैको हितमा सोचेर कसैलाई समस्या नपर्ने गरी प्रचार गर्नुपर्ने उनको भनाइ छ ।
शुभाष कुमार यादवले डि जेका कारण घरका साना बालबालिकाले राम्रोसँग सुत्न नपाएको र बिरामीलाई थप असहज हुने गरेको गुनासो गरे । “घरका बिरामीको बारेमा समेत नसोच्ने उम्मेदवारलाई कसरी मत दिनेरु” भन्दै उनले असन्तुष्टि जनाए । मठमन्दिरमा हुने पूजाआजा समेत प्रभावित हुने गरेको उनको भनाइ छ ।
अधिकांश सर्वसाधारण एउटै विषयमा पीडित देखिएका छन्—डि जेबाट हुने अत्यधिक ध्वनी । बालबालिका, वृद्धवृद्धा, विद्यार्थी, बिरामी, व्यापारी तथा कार्यालयका कर्मचारीसम्म प्रभावित हुने भएकाले यस्तो शैली परिवर्तन गर्नुपर्ने उनीहरूको माग छ ।
स्थानीयहरूले अहिलेको डिजिटल युगमा पुरानै शैलीमा ध्वनी प्रदूषण फैलाएर प्रचार गर्नु उपयुक्त नभएको बताउँदै सामाजिक सञ्जाल, घरदैलो र संवादात्मक कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।