विराटनगर । आवश्यकता बनेर आकस्मिक घोषणा गरिएको निर्वाचनको मिति नजिक छ । अबका ११ दिनका दिन मतदान हुँदैछ । यो बीचमा चुनाव हुने नहुने विषयका बहस चलिरहेका छन् । कुनै ठूलो प्रलय नभएमा निर्वाचन फागुन २१ गते हुने सबै तम्तयार जोरजाम मिलिसकेको छ ।
निर्वाचनमा सबै राजनीतिक दल होमिएका बखत यसलाई बहिष्कार गर्नेहरुको आवाज झिनो सुनिएको छ । झिनो आवाजका बीचपनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रहरीले यसको निगरानी बढाइरहेको छ । अहिले सिपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्दीय समितिद्वारा निर्वाचन बहिस्कारकमा छ । यसले आफ्नो बहिष्कार पोष्टर सार्वजनिक गरेर प्रचारात्मक सन्देश दिइरहेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा १६ नम्बर ब्यूरो सचिव बिमल निरौलाले आन्दोलन प्रतिकात्मक मात्रै रहेको बताए । उनका अनुसार निर्वाचन बहिष्कार गर्ने कार्यक्रमलाई प्रचारात्मक मात्रै बनाईने छ । तर, यस्तो प्रचारात्मक कार्यक्रम पनि सशक्त हुनेछ । उनले अगाडी थप्दै भने कुनै हिंसात्मक ढंगका गतिविधि हुनेछैनन् तर निर्वाचन बहिष्कार गरौं भनेर मतदानस्थलहरुमा समेत यसको प्रचारात्मक सन्देश दिइनेछ ।
उनकै भाषामा क्रान्तिकारी कम्युष्टि पार्टी नेपालले कुनैपनि निर्वाचन बहिष्कार लक्षित कार्यक्रममा विष्फोटक पदार्थ तथा यससँग सम्बन्धित कुनैपनि काम गर्ने छैन । यद्यपी निर्वाचनमा मतदान नगरौं भनेर घरदैलो गर्नेदेखि प्रचारप्रसारका लागि पोष्टरहरु टाँस्ने, पम्प्लेटहरु वितरण गर्ने र आधार क्षेत्र बनाएर कार्यक्रमहरु गर्ने तयारी गरेको छ ।
सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको पोष्टरमा ‘संसारका मजदुर तथा उत्पीडित जनता एक होऔँ !, मार्क्सवाद–लेनिनवाद–माओवाद – जिन्दावाद !, नयाँ जनवाद–वैज्ञानिक समाजवाद – जिन्दावाद ! साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिष्कार गरौँ !, स्वाधीन संयुक्त सरकार गठन गरौँ !’ भन्ने नारा उल्लेख गरिएको छ ।
ब्युरो सचिव निरौलाले यो सरकार साम्राज्यवादबाट परिस्थिति तयार गरेर निर्माण गरिएकोले यसलाई खारेज गरेर स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने मुद्दा नेपाली माटो सुहाउँदो रहेको सुनाए । उनले अहिले निर्वाचनबाट आउने परिणामले देशलाई सकारात्मक दिशा दिननसक्ने जिकीर गरेका छन् ।
निर्वाचन लक्षित सुरक्षा परिचालन भइसकेको अवस्थामा प्रहरीले भने यसलाई सकारात्मक मानेको छैन । निर्वाचन बहिष्कार पक्षधर कमजोर प्रभावमा देखिएपनि यसले दिने प्रतिकात्मक सुरक्षा संवेदनशीलताको सन्देशलाई प्रहरीले सकारात्मक मानेको देखिदैन । मोरङका प्रहरी उपरीक्षक कबित कटुवालले अहिले निर्वाचनको स्थितिमा कुनैपनि किसिमका अवाञ्छित गतिविधिमाथि प्रहरीले कडाईपूर्वक निगरानी गरिरहेको बताए । उनले प्रहरीले आवश्यक सुचना संकलन गरिरहेको बताउँदै आन्दोलनकारी नम्र र भद्र हुँदाका बाहेक निर्वाचन प्रभावित बनाउने कुनैपनि कार्यक्रमप्रति प्रहरी गम्भीर रहेको बताएका छन् ।