विराटनगर । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मोरङले सुरक्षा व्यवस्थामा निकै कडाइ गरेको छ ।
निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्य सहित प्रशासनले गरेको आह्वानअनुसार जिल्लाका १२१ जना नागरिकले आफूसँग रहेका इजाजतप्राप्त हतियार बुझाएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज काईरालाका अनुसार , निर्वाचनको समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौती र हतियारको दुरुपयोग रोक्न यो कदम चालिएको हो ।
प्रशासनले यसअघि नै सूचना जारी गरी इजाजतप्राप्त हतियार बुझाउन निर्देशन दिएको थियो । सोही निर्देशनको पालना गर्दै हतियारधनीहरूले आ–आफ्नो क्षेत्रका नजिकैका प्रहरी इकाईहरूमा हतियार बुझाएको कोईरालाले बताउनुभो ।
सहायक प्रजिअ कोईरालाले भन्नुभयो, “निर्वाचनको समयमा हतियारको प्रदर्शन वा प्रयोगले आम मतदातामा त्रास पैदा गर्न सक्छ । त्यसैले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर हामीले हतियार सङ्कलन गरेका हौँ । हालसम्म १२१ वटा हतियार संकलन भइसकेका छन, जसले निर्वाचन सुरक्षा योजनालाई सफल बनाउन ठूलो मद्धत पुग्नेछ ।’’
सङ्कलन गरिएका हतियारहरू निर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित प्रहरी कार्यालयको सुरक्षित निगरानीमा रहनेछन् । निर्वाचन प्रक्रिया सकिएपछि प्रक्रिया पु¥याएर सम्बन्धित धनीलाई नै ती हतियार फिर्ता गरिने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । बाँकी रहेका नागरिकसँगका हतियारहरु बुझाउन पनि प्रशासनले अनुरोध गरेको छ ।