काठमाडौं । राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै अब सहयोग रकम रोक्न आग्रह गरेकी छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले पछिल्लो २४ घण्टामा आफूले पाएको साथ, विश्वास र मायाले आफूलाई थप बलियो बनाएको उल्लेख गरिन् । आर्थिक सहयोग मात्र नभई अन्य साथ र समर्थनले आफूलाई शल्यक्रिया तथा पुनस्र्थापनाका लागि ऊर्जा दिएको उनको भनाइ छ ।
भण्डारीका अनुसार उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ (५२ हजार न्यूजिल्यान्ड डलर) संकलन भइसकेको छ । विभिन्न संघ–संस्था तथा व्यक्तिहरूले थप सहयोगको प्रतिबद्धता जनाएकाले उपचार खर्च, आवास तथा यातायात व्यवस्थापन पुग्ने देखिएको उनले बताइन् ।
यसैबीच उनी आबद्ध क्लबे वेलिंगटन फिनिक्सलले पनि शल्यक्रिया र पुनस्र्थापनाका लागि बीमा रकम निकासा गरी उपचार प्रक्रियामा सहजीकरण गरिरहेको जनाइएको छ । छिट्टै शल्यक्रिया मिति तय हुनेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरिन् । चोटका कारण शारीरिकसँगै मानसिक रूपमा पनि कठिन समय गुज्रिएको बताउँदै उनले समर्थकको साथले पुनः मैदान फर्कने आत्मविश्वास दिएको बताइन् । उनले दृढतापूर्वक भनिन्, आफू अझ मजबुत भएर फर्कनेछिन् र पुनः नेपालको जर्सी लगाएर देशका लागि खेल्ने प्रतिबद्धता व्यक्त गरिन् ।