विराटनगर । वान प्लस यातायात प्रा.लि.ले विराटनगर–काठमाडौं रुटमा शौचालयसहितको अत्याधुनिक सुविधा सम्पन्न स्लीपर एसी २ वटा बस सञ्चालनमा ल्याएको छ । यात्रुहरूको सहजता र आरामलाई ध्यानमा राख्दै कम्पनीले भित्रै शौचालय भएको सुविधायुक्त बस सञ्चालनमा ल्याएको जनाएको छ ।

कम्पनीका संचालक तथा कर्मचारीहरुले बुधबार धरान स्थित चारकोशेमा रहेको विश्वकर्मा मन्दिरमा दुईवटा बसको विधी पुर्व पुजापाठ गरि संचालनमा ल्याएका छन् ।
कम्पनीका अध्यक्ष भिम अधिकारी का अनुसार विशेषगरी रात्रीकालीन यात्रालाई सहज बनाउन शौचालयसहितको बस सञ्चालनमा ल्याइएको हो । “बसभित्र रहेको शौचालयमा एसी र सेन्सर जडान गरिएको छ । विराटनगरबाट काठमाडौं जानको लागि पहिलोपटक यस्तो सुविधा भएको बस सञ्चालनमा ल्याएका हौं,” उनले बताए ।

त्यसैगरी कम्पनीकाउपाध्यक्ष ज्योती भट्टराईले बसका सिटहरू इटालियन प्रोडक्ट प्रयोग गरी तयार गरिएको जानकारी दिए । उनका अनुसार क्याबिनबाटै यात्रुहरू उत्रने गन्तव्य र खाना–खाजाका स्थानहरूको जानकारी माइकमै उद्घोष गर्ने व्यवस्था गरिएको छ । बसमा औषधि तथा महिलाहरूका लागि सेनेटरी प्याड परिवर्तन गर्न मिल्ने सुविधा समेत उपलब्ध रहेको उनले बताए । शौचालयको सुविधा हवाईजहाजमा प्रयोग हुने प्रणालीसरह रहेको दाबी गरिएको छ।

बसमा यात्रुहरूका लागि फ्रि वाइफाइ, जीपीएस लोकेशन, तातो–चिसो एसी, मोबाइल चार्जिङ सुविधा उपलब्ध छ भने सीसी क्यामेरामार्फत चालकदल र यात्रुको यात्रा अवधिभर निगरानी गरिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका कोषाध्यक्ष उतर लामा का अनुसार बसमा ३१ जना यात्रुका लागि भिआईपी सोफा सिट र ८ जना यात्रुले सुतेर यात्रा गर्न मिल्ने स्लीपर सिटको व्यवस्था गरिएको छ। स्लीपर सिटको भाडा दुई हजार रुपैयाँ तथा भिआईपी सोफा सिटको भाडा १८ सय रुपैयाँ निर्धारण गरिएको छ ।
एकै घर–परिवारका सदस्य, महिला, बालबालिका तथा अशक्त व्यक्तिहरूलाई लक्षित गर्दै आरामदायी रूपमा सुतेर यात्रा गर्न सकून् भन्ने उद्देश्यले यस्तो सुविधा थप गरिएको कम्पनीले जनाएको छ। हाल विराटनगरबाट दिवा तथा रात्रीकालीन गरी वान प्लस यातायातका ६ वटा गाडीहरू काठमाडौं रुटमा सञ्चालनमा रहेका छन् ।
