कुनै पनि राज्य तथा प्रशासनिक संयन्त्रको लागि यथास्थितिवाद प्रणवायु वा प्राणघातक दुवै ठहरिन सक्छ। विधिको शासन, सुशासन, कानुनी राज्य एवं पारदर्शी प्रणालीयुक्त राज्यमा यथास्थितिवाद सकारात्मक देखिएता पनि यसको असर अस्थिर सरकार र भ्रष्ट संयन्त्रमा प्रष्ट देखिन्छ। भ्रष्टाचारमा लिप्त ब्युरोक्रेसी, अपारदर्शी संस्था र संगठनमा यथास्थितिवाद हाबी हुँदा राज्य र सरकार अझ जिर्ण हुँदै असफलता तर्फ धकेलिन्छन।
खासमा के हो यथास्थितिवाद ?
राज्य, कर्मचारीतन्त्र वा संगठनको संरचना, कार्य पद्धति वा शैली, संचालनका तौर तरिका, र राज्य तथा समाजको विद्यमान अवस्थामा कुनै पनि फेरबदल नगरी यथावत राख्ने प्रवृती वा सोचाई नै यथास्थितिवाद हो।
विद्यमान परिस्थितिमा फेरबदल नगर्ने सोचले नागरिकको सचेतना का साथै उनिहरुको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनितिक चेतको समेत यथार्थ चित्रण गर्दछ। यसको अर्थ यो हुँदैन कि यथास्थितिवादी चिन्तनले सँधै कुशासन, भ्रष्टाचार, अपारदर्शितालाई नै बढावा दिइरहेकको हुन्छ। समृद्ध, विकसित, चेतनशील एवं शिक्षित समाजमा देखिने यथास्थितिवादको चित्र अविकसित, गरीब र अशिक्षित समाजको यथास्थितिवाद भन्दा ठिक विपरित हुन्छ। विकसित समाजको यथास्थितिवादले मुलुकलाई सोही गतिमा हिँड्न दिशानिर्देश गर्दछ भने अविकसित समाजको यथास्थितिवादले विकास र समृद्धको मार्गचित्र कल्पना गर्दैन।
समाज र राष्ट्रमा किन विकास हुन्छ यथास्थितिवादी सोच ?
भ्रष्टाचार, कुशासन, अपारदर्शीता र अनुत्तरदायी प्रवृत्ति हाबी भएको मुलुकका सन्दर्भमा रहेर विश्लेषण गर्ने हो भने यथास्थितिवाद रहनुका विभिन्न कारणहरु देखिन्छन। त्यसमा सामाजिक, आर्थिक, राजनितिक, मनोवैज्ञानीक, तथा सांस्कृतिक कारण पर्दछन्।
राजनैतिक कारण
कुनै पनि अविकसित राष्ट्रमा राजनितिको जालो व्याप्त हुन्छ। राज्यका सबैजसो निकाय, अंग र संयन्त्र राजनितिकरण भएका हुन्छन र उक्त राजनितिकरणबाट ब्युरोक्रेट्स, सेवाप्रदायक र हरेक तहका कर्मचारी लाभान्वित भएका हुन्छन। यसर्थ उक्त राजनितिकरणबाट प्राप्त गरिरहेको आर्थिक एवं भौतिक लाभको बन्चितिकरणको अवस्था सिर्जना नहोस भनी यथास्थितिवादी चिन्तनको विकास हुन्छ।
सामाजिक एवं साँस्कृतिक कारण
हरेक समाज तथा राष्ट्र आफ्नै मौलिक, सामाजिक एवं साँस्कृतिक मुल्य मान्यताको धरातलमा उभिएको हुन्छ। तर कतिपय प्रथा, परम्परा अन्धविश्वास, अन्याय र उत्पिडन झल्काउँने हुन्छन जसलाई समाजले साँस्कृतिक मूल्य र मान्यता भनी स्विकारेको हुन्छ जसका विरुद्ध नागरिक तथा समाज सहजै विद्रोह सक्दैनन र यथास्थितिवाद स्विकार गर्न पुग्दछन।
आर्थिक कारण
यथास्थितिवादी विचारधारा आर्थिक कारणले पनि व्याप्त रहेको मान्न सकिन्छ। यसमा आर्थिक र राजनैतिक कारणले एकअर्कासङ्ग अन्तरसम्बन्ध पनि राख्दछन।
1. छिटै सम्पत्ती आर्जन गर्ने चाहना
2. द्रव्य मोह
3. आर्थिक सम्पन्नतालाई शक्ति एवं सफलता मान्ने कुसंस्कार
आदि जस्ता आर्थिक कारणले गर्दा भ्रष्टाचार, नातावाद, कृपावाद, अनियमितता जस्ता गलत आचरणमा यथास्थितिवादी सोचले प्रस्रय पाउँछ।
मनोवैज्ञानिक कारण
समाजमा बेथिति र विसंगती हुनु स्वभाविक कुरा हो। ती बेथिति र विसंगतीहरुलाई समाजको एउटा पुस्ताले सहर्ष स्विकार गर्दै आइरहेको हुन्छ भने एउटा पुस्ताले असहमति जनाउँदछ। कुनै पनि प्रथा अथवा परम्पराको रुपमा रहेको विसंगतिप्रति विद्रोह गर्नु आफैमा एउटा चुनौती हो। उक्त विसंगतिमा जनाएको असहमती र उन्मुलनको सोचको बिचमा एउटा ठूलो संघर्षको आवश्यकता हुन्छ। त्यो संघर्षको ज्वाला निभ्ने अथवा परिवर्तनको आवाज यत्तिकै हराउने त्रासमा कयौँ आवाजहरु प्रष्फुटन नै हुन पाउँदैनन्। यहि त्रासका कारण प्रष्फुटित नहुने परिवर्तनको आवाज यथास्थितिवादको मनोवैज्ञानिक कारण हो।
यथास्थितिवादले पिछडिएको समाजमा पार्ने नकारात्मक असर
सामाजिक, आर्थिक, राजनैतिक, तथा वैचारिक दृष्टिले पिछडिएको समाज र वर्गलाई यथास्थितिवादले झन थिलथिलो बनाएर राख्दछ। शिक्षित वर्ग व्यक्तिगत स्वार्थका लागि परिवर्तन चाहँदैन भने अशिक्षित वर्ग चेतनाको अभावले परिवर्तनको कल्पना गर्न सक्दैन जसको निम्न असर सम्पुर्ण समाजले भोदछ ः
आर्थिक असमानताको वृद्धि
शोषित एवं उत्पिडित वर्गमा हिनताबोध
बेथिति, विसंगती र कुरीतिको सामान्यीकरण
कुप्रथा तथा गलत परम्परालाई प्रस्रय
संसारले यथास्थितिवादलाई अस्विकार गरेका केही इतिहास र उदाहरण
इटालीका शासक बेनिट्टो मुसोलिनीको पतन
लिबियाका शासक कर्णेल मुअम्मर गद्दाफीको पतन
नेपालको जेन्जी विद्रोह
बङ्गलादेशमा शेख हसिनाको बहिर्गमन
श्रीलंकामा राजापाक्षेको सत्ताच्युत
सन् १९९१ मा सोभियत संघको विघटन
सन् १७८९ को फ्रान्सेली क्रान्ति
सन् १९१७ को रुसको अक्टोबर क्रान्ति
यसर्थ आर्थिक, सामाजिक तथा राजनैतिक पक्षबाट पछाडी परेका वा पारिएका समाज तथा राष्ट्रलाई यथास्थितिवाद अझ बढि प्राणघातक ठहरिन्छ र यसले समाज एवं राष्ट्रलाई अझ ठूलो भुमरीमा फसाउन सक्छ। अन्ततोगत्वा यथास्थितिवादी चिन्तनलाई त्यागी आर्दश भ्रष्टीकरण, वैचारीक पतनका साथै असफल राष्ट्र हुन बाट जोगाउनु नै सबै नागरिकको जिम्मेवारी रहन्छ।