विराटनगर । सुख्खा पहिरोका कारण भेडेटार–रवि–राके सडक आयोजनाअन्तर्गत भेडेटार–नाम्जे खण्ड अवरुद्ध भएको छ । शुक्रबारदेखि सुख्या पहिरो खस्ने क्रम नरोकिँदा आइतबार समेत उक्त सडक अवरुद्ध रहेको हो ।
सडक खुलाउन निर्माणको जिम्मा पाएको भारतको एपको इन्फ्राटेक निर्माण कम्पनीले उपकरण र जनशक्ति तयारी अवस्थामा राखेको छ । स्थानीय प्रहरी, साँगुरीगढी गाउँपालिका समेतले चासो दिइरहेको भएपनि भिरबाट ढुंगा, माटो र रुख झरिरहेका कारण काम गर्न नसकिएको हो ।
इलाका प्रहरी चौकी भेडेटारका प्रहरी नायब निरीक्षक रमेश श्रेष्ठले काम गर्नसक्ने स्थिति नरहेका कारण अझै केहिदिन अवरुद्ध हुनसक्ने बताएका छन् । उनका अनुसार गेग्रान र पहिरो झर्ने क्रम जारी रहेकाका कारण अहिले आसपासमा पुग्न सकिने अवस्था छैन ।
भेडेटार–रवि–राके सडक खण्ड हुँदै धनकुटाको राजारानी, वडा नं. ६ बुधबारे हुँदै पाँचथर र इलामसम्मका यात्रु तथा ढुवानीका सवारी साधन आवतजावत गर्ने गर्दछन्। यो सडकमा सुख्खा पहिरो गएपछि शुक्रबार यता आवतजावत रोकिएको छ ।