विराटनगर । इन्टर ल क्याम्पस क्रिकेट च्याम्पियनशिप अन्तर्गत सम्पन्न खेलमा पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ लले काठमाडौँ विश्वविद्यालय स्कूल अफ ललाई १० विकेटले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँ विश्वविद्यालयले कमजोर प्रदर्शन गर्दै १२.४ ओभरमा ७४ रनमा अलआउट भयो। काठमाडौँ विश्वविद्यालयका लागि आशुतोष ठाकुरले २२ रन तथा प्रियंश रंजनले ८ रनको योगदान दिए भने अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
७५ रनको सामान्य लक्ष्य पछ्याएको पूर्वाञ्चल विश्वविद्यालयले उत्कृष्ट ब्याटिङ गर्दै ६.३ ओभरमै कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्यो। ओपनर अमन महतोले अविजित ४० रन बनाउँदा अमित मण्डलले ३२ रनको महत्वपूर्ण योगदान दिए।
बलिङतर्फ पूर्वाञ्चल विश्वविद्यालयका अमन महतोले ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे भने धिरज यादवले २ विकेट हात पारे। विवेक चन्द्र यादव, रविन्द्र शाह र नितेश मण्डलले समान १–१ विकेट लिए। टोलीको कप्तानी अमन महतोले गरेका थिए। टिममा अमित मण्डल, नितेश मण्डल, सुरज मुखिया, धिरज यादव, विवेक चन्द्र यादव, रविन्द्र शाह, विशुन देव मुखिया, अम्रेश यादव, अरबिन्द गुप्ता र सुभाष सागर पाण्डे लगायतका खेलाडी सहभागी थिए।
टोलीका टिम म्यानेजर प्रभाष चन्द्र झा रहेका छन् भने प्रशिक्षणको जिम्मेवारी भगवान मिश्रा ले सम्हालेका छन्।