नयाँ वर्षसँगै विराटनगरमा पहिलो पाँच तारे होटल ‘लेमन ट्री प्रिमियर’

<span class='c1'>नयाँ वर्षसँगै विराटनगरमा पहिलो पाँच</span> <span class='c2'>तारे होटल ‘लेमन ट्री प्रिमियर’</span>

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलो अन्तराष्ट्रिय ब्रान्डको पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ नयाँ वर्ष २०८३ सँगै सञ्चालनमा आउने भएको छ । शुभम् इन्टरनेशनल हस्पिटालिटी प्रा.लि.मार्फत चारजना युवा साझेदारको दुई अर्ब लगानी होटलमा छ ।
यो समूहमा रहेका युवा विराटनगरमा पहिलो व्यापारिक मल स्थापना गर्नेदेखि अन्य क्षेत्रमा लगानी गर्नेहरु छन् । महेन्द्रचौकमा खोलिएको नेपाल बजार भाटभटेनीसँगै बन्द गर्नु बाहेकको विकल्प रहेन । त्यसलाई विस्तार गर्ने योजनासहित भृकुटीचौकमा सात कठ्ठा जमिन खरिद गरिएको थियो । त्यहि नेपाल बजार विस्तारका लागि खरिद गरिएको जमिनमै पछि होटल स्थापना गर्ने सोच परिवर्तन गरिएको हो ।

विराटनगरका चारजना युवाले लगानी गरेको यो होटलको सम्पूर्ण व्यवस्थापन भने भारतको दिल्लीस्थित अन्तर्राष्ट्रिय ब्रान्डको लेमन ट्री प्रिमियरले गर्नेछ । लेमन ट्री ब्रान्डमा नेपालको यो दोस्रो होटल विराटनगमा स्थापना भएको हो । नेपालमा पहिलो काठमाण्डौंमा खुलेको छ । लगानी साझेदारमध्येका मनोजबिक्रम शाहका अनुसार अहिले ८० जना कामदारका लागि लेमन ट्री प्रिमियरले तालिम आयोजना गरिरहेको छ । आगामी बैशाखमा यसको भव्य उद्घाटन गर्ने तयारी गरिएको छ । नयाँ वर्षको अवसर पारेर यसको भव्य उद्घाटन गर्नेछौं, विराटनगरका लागि यो एउटा नमूनायोग्य होटल हुनेछ, शाहले भने ।

होटलमा ८० वटा कोठा रहेका छन् । जसमा एउटा प्रेसिडेन्सियल स्वीट रुम, आठ वटा स्वीट रुम छन् । पाँचवटा सुपर डिलक्स र ६६ वटा डिलक्स रुम रहेका छन् । बेसमेन्टसहित आठ तलाको होटलमा दुई हजार क्षमताको पाँच हजार वर्गफिटको बैंककेट हल, रुफटप स्विमिङ्ग पुलसहित, स्पा, साउना बाथ, जीम छन् । होटल भित्रै तीनवटा रेष्टुरेन्ट सञ्चालनमा हुनेछन् । सिट्रस क्याफे, लाउन्ज बार र अल डे डाइनिङ्ग सुविधा उपलब्ध हुनेछन् ।
शाहसहित कविन श्रेष्ठ, विकास चौधरी र प्रशान्त तातेडको लगानी छ । यसमा लगानीकर्ताले गर्ने लगानी बाहेक सञ्चालनको सम्पूर्ण जिम्मेवारी लेमन ट्री ले नै लिएको छ । भारतमा मुख्यालय रहेको लेमन ट्री हस्पिटालिटी क्षेत्रको बहुराष्ट्रिय कम्पनी हो । नेपालमा काठमाण्डौंपछि विराटनगरमा होटलको व्यवस्थापन यसले हेर्ने भएको हो । भारत, भुटान, दुबईमा गरी यसका २२६ वटा होटल रहेको बताइन्छ ।
विराटनगरमा स्थापना भएको होटल नेपाल र भारतका पर्यटकका लागि लक्षित छ । शाहका अनुसार बिहार, पश्चिम बंगाल, आसामसम्मका पाहुँना र विवाहका लागि होटल बढी प्रयोग हुने आसा छ ।

अब धमाधम खुल्दैछन्
विराटनगरमा अहिलेसम्म पाँचतारे होटल सञ्चालनमा आएका छैनन् । लेमन ट्री पहिलो पाँचतारे होटल हुनेछ । यहाँ भाटभटेनी समूहको सेन्चुरी, विजय चौधरी समूहको एक्सिस, प्रकाश गौतमको किङ्सबेरी र शिवम् समूहका पाँचतारे होटलहरू निर्माणको क्रममा छन् । भर्खरै सुनसरीको इटहरीमा करिब दुई अर्बको लगानीमा अन्तर्राष्ट्रिय स्तरको होटल ‘रमडा बाइ विन्डम इटहरी’ सञ्चालनमा आएको छ । विश्वको सबैभन्दा ठूलो होटल फ्रेन्चाइज समूहमध्येको अमेरिकी चेन होटल ब्रान्ड विन्डम होटल्स एन्ड रिसोर्टस् अन्तर्गतको लोकप्रिय मिड–स्केल ब्रान्ड ‘रमडा’ कोशी प्रदेशमा पहिलो पटक भित्रिएको हो।

यसबाहेक हाल कोशी प्रदेशमा झापाको बिर्तामोडमा किङ्सबेरी, काँकडभिट्टामा मेची क्राउन र सुनसरीको इटहरीमा सोल्टी वेस्टेन्ड प्रिमियर जस्ता होटल सञ्चालनमा छन् । विराटनगरमा प्रकाश गौतमको किङ्सबेरी, विजयकुमार चौधरीको एक्सिस र नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतको लगानी रहेको शिवम् समूहको पाँचतारे होटल निर्माणको क्रममा छन् । यसले विराटनगरमा पाँच तारे होटल हवको रुपमा विकासमा सहयोग पुग्ने देखिन्छ ।

त्यसैगरी झापामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको एजीएम र धनकुटाको भेडेटारमा विराटनगरको होटल एशियाटिकले पाँचतारे होटल निर्माण सुरु गरेका छन् । झापाको बिर्तामोडमा प्रकाश गौतमको स्वामित्वमा रहेको किङ्सबेरी होटल क्यासिनो व्यवसायी रवि धिताललाई करिब २ अर्बमा बिक्री गरेर गौतमले विराटनगरमा अर्को किङ्सबेरी होटल निर्माण सुरु गरेका छन् । विराटनगर बसपार्क नजिक पाँचतारे होटल निर्माणका लागि होटल रत्नासँग जोडिएको व्यवसायी दीपक मल्होत्राको ४१ कठ्ठा र साझेदारको नाममा रहेको ७ कठ्ठा गरी कुल ४८ कठ्ठा जमिन गत पुसमा १ अर्ब २५ करोडमा खरिद गरेका थिए । यहाँ अब किङ्सबेरी बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्