विराटनगर। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार गठन भएको १५ सदस्यीय मन्त्रिपरिषद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद निशा मेहताले स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानी मन्त्रालयको जिम्मेवारी पाएकी छिन्।
पेशाले नर्स रहेकी मेहता सुनसरी इनरुवाकी ३८ वर्षीया हुन्। उनले भारतको ग्वालियरबाट नर्सिङमा स्नातकोत्तर (MSc Nursing) गरेकी छिन्। राजनीतिमा प्रवेश गर्नुअघि उनी विराटनगरस्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा उपप्राध्यापकका रूपमा कार्यरत थिइन्। निर्वाचन आयोगबाट सांसदको प्रमाणपत्र प्राप्त गरेपछि मात्र उनले आफ्नो नर्सिङ पेशाबाट राजीनामा दिएकी हुन्।
रास्वपाको स्थापनाकालदेखि नै सक्रिय मेहता पार्टीकी केन्द्रीय सदस्य समेत हुन्। उनका श्रीमान् डा. सरोज सिंह कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) हुन् ।
स्वास्थ्यमन्त्रीका लागि पार्टीभित्र अन्य चिकित्सक सांसदहरूको पनि चर्चा भए तापनि प्रधानमन्त्री बालेन्द्र शाह र सभापति रवि लामिछानेले मेहतालाई नै यो जिम्मेवारी दिने निर्णय गरेका हुन्।
मन्त्रालयमा शुक्रबार आयोजित पदबहाली तथा स्वागत कार्यक्रममा बोल्दै मन्त्री मेहताले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई हौसला प्रदान गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, "ती जनशक्तिलाई स्वदेशमा नै बस्न सक्ने वातावरण मिलाउनुपर्छ, हौसला दिनुपर्छ।" स्वास्थ्य जनशक्तिलाई हौसला नदिइँदा विदेशिने स्थिति सृजना भएको उनको भनाइ थियो।
मन्त्री मेहताले जनता र स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई सन्तुष्ट बनाउने कार्यलाई सरकारले प्राथमिकता दिने बताइन्। जनशक्तिलाई सन्तुष्ट बनाउन सकेमात्र परिणाम प्राप्त गर्न सकिने र जनताले भरपर्दो सेवा प्राप्त गर्ने उनको धारणा छ।
उता, आफ्नै संस्थाकी पूर्वउपप्राध्यापक मेहता स्वास्थ्यमन्त्री नियुक्त भएकोमा बिराट मेडिकल कलेज टिचिङ हस्पिटल परिवार हर्षित बनेको छ। संस्थापक अध्यक्ष प्रो.डा. ज्ञानेन्द्रमान सिंह कार्कीले मेहताको नियुक्तिलाई संस्थाका लागि गौरवको क्षण भएको बताउँदै उनको सफल मन्त्रित्वकालको कामना गरेका छन्। हस्पिटलमा उपप्राध्यापकका रूपमा कार्यरत हुँदा नर्सिङ शिक्षा र स्वास्थ्य सेवामा उनले पुर्याएको योगदानलाई संस्थाले सधैँ स्मरण गर्ने डा. कार्कीको भनाइ छ। मेहताले मन्त्रालयको नेतृत्व गर्दा स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै हस्पिटल परिवारले उनलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिएको छ।