विराटनगर । विराटनगर–४ स्थित खार्जीमा रहेका यातायात कार्यालयका अधिकृतको छाप र हस्ताक्षर बिचौलिया आफैंले गरेर सवारीको बिलबुक नविकरण गर्दै आएको खुलेको छ । प्रहरीले चैत १६ गते विराटनगर–६ का ३७ वर्षीय कमल कुमार स्वर्णकारलाई पक्राउ गरेको थियो ।
स्वर्णकार यातायात कार्यालय परिसर भित्र लेखापढीको काम गर्दछन् । उनलाई को ३९ प ९५७९ नंं को मोटरसाइकलको बिलबुक किताब नबिकरण गर्न कसैले दिएको थियो । नविकरण गरेर ल्याएको बिलबुकमा सरकारी छाप र दस्तखत किर्ते गरेको खुल्यो ।
सेवाग्राहीसँग नबिकण राजश्व बुझाउने रकम उठाउने अनि सवारी साधनहरुको सवारी दर्ता किताव लगी यातायात कार्यालयको सरकारी छाप तथा छैटौ अधिकृतको छाप लगाउने र अधिकृतको दस्तखत पनि आफैं गर्ने गरेको पाइएको छ । किर्ते गरी ठगी गरेको भन्ने सूचना प्रहरीमा प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, मोरङको टोलिले उनलाई नियन्त्रणमा लिएको थियो ।
मोरङका प्रहरी प्रवक्ताका अनुसार रीतपूर्वक पक्राउ गरी खानतलासी गर्दा उनीसँग ११ थान सवारी दर्ता किताबहरु भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएर उनीलाई सोधपुछ गरिएको थियो । प्रहरीले त्यसपछि नक्कली नबिकरण गराएर पीडित भएकाहरुबाट जाहेरी लिईकन मोरङ जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको जानकारी दिइएको छ ।
प्रहरीले उनलाई कसैले सवारी दर्ता किताब नबिकरणको लागि दिइएको भए ठगिएको हुनसक्ने संभावना रहने भन्दै सम्पर्कमा जानका लागि अनुरोध गरेको छ ।