काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा ठूलो गिरावट आएको छ । कारोबार सुरु भएदेखिनै ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको हो ।
अपरान्ह १ः२७ बजेसम्म नेप्से परिसूचक ९७.६१ अंकले घटेर २६८४.४२ विन्दुमा झरेको छ । बजारमा प्यानिक सेल बढेपछि सबै उपसमूहका सूचकहरू राताम्मे भएका छन् । साढे १ बजेसम्मको अवधिमा बजारमा ७ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । नेप्सेका अनुसार कारोबारमा आएकामध्ये अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ । विशेषगरी नारायणी डेभलपमेन्ट बैंक र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आउँदै नेगेटिभ सर्किट लागेको छ । हालै आइपीओ जारी गरेका केही कम्पनीबाहेक अन्य सबैजसो कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
बजारमा देखिएको यो उच्च गिरावटको मुख्य कारण सरकारले सम्पत्ति शुद्धीकरणको अनुसन्धानलाई तीव्र बनाउनु रहेको विश्लेषण गरिएको छ । पछिल्लो समय सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान प्रक्रिया अघि बढाउँदै केही ‘बिचौलिया’ हरूलाई समेत पक्राउ गर्न थालेपछि ठूला लगानीकर्ताहरू त्रसित बनेका छन् ।