मोरङको जहदामा व्यक्तिको ७० बिघा जग्गामा बिचौलिया, जनप्रतिनिधि र मालपोतका कर्मचारी हावी

<span class='c1'>मोरङको जहदामा व्यक्तिको ७० बिघा जग्गामा</span> <span class='c2'>बिचौलिया, जनप्रतिनिधि र मालपोतका कर्मचारी हावी</span>

विराटनगर । अंशियार वा हकअधिकार राख्ने परिवारका सदस्यलाई छलेर जहदा गाउँपालिका–२ मा एउटा परिवारको ७० बिघा जग्गामा बिचौलिया, स्थानीय जनप्रतिनिधि र मालपोत र नापीका कर्मचारीले राँईदाँई मच्चाएका छन् । विगत सात वर्षको अवधीमा पारिवारिक बेमेलमा खेलेरै उनीहरुले अंशियार र हकदारले पाउने जग्गा अन्यको नाममा नामसारी गर्दा कानुनी प्रक्रिया समेत मिचेका हुन् ।
जहदा–२ मिलन टोलका जग्गाधनी अयोधी यादवबाट उनकी श्रीमती बुधियादेवीको नाममा ७० बिघा बढी जग्गा आएको थियो । यो जग्गा अंशियार वा हकदारलाई जानकारी नदिईकन बिक्री गर्न बिचौलियालाई स्थानीय तहका प्रतिनिधिको सहयोग, अनि मालपोत तथा नापीका कर्मचारीको गिद्दे दृष्टि लागेको खुलेको हो ।

कस्तो छ पारिवारिक पृष्ठभूमि
तत्कालिन भातिगछ (हाल जहदा–२ मिलनटोल) का जमिन्दार अयोधी यादवको मृत्यु भएको २५ वर्ष पुगिसकेको छ । उनकी श्रीमती बुधियादेवी यादवको २०८१ सालमा मृत्यु भइसकेको छ । यी दम्पतीका दुई छोरा थिए । रामनारायण यादव (जेठो) र सत्यनारायण यादव (कान्छा) । यीमध्ये कान्छो छोरा सत्यनारायणको पनि १६ वर्ष अगाडी नै निधन भइसकेको छ । यी दुवै भारतको उत्तर प्रदेश बस्थे । जमिन्दारका छोरा उनीहरु दुवैले भारतबाटै विवाह गरेका थिए ।
तत्कालिन शेरबहादुर सरकारले २०५८ मा हदबन्दी लागु गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयसँगै बुधियादेवीको नाममा भएको जग्गा अंशियारहरुमा बाँडफाँड गरिएको थियो । जसमा जग्गाका मुख्य अंशियार तीनजना रहेका थिए । बुधियादेवी (आमा) र छोराहरु रामनारायण र सत्यनारायणको निधन भएकोले उनकी श्रीमती निर्मला यादव ।
हदबन्दीको जग्गा रामनारायण, उनका छोरा बजरंगीको नाममा र तथा निर्मलाका छोराहरु राहुल र रिसु यादवको नाममा राखिएको थियो । रामनारायणकी श्रीमती पनि भारतीय थिइन्, उनको पनि मृत्यु भएको थियो । श्रीमान गुमाएकी निर्मला पनि भारतकी नागरिक नै थिइन् ।

त्यसो हुँदा अंशियारको रुपमा जेठो छोरा रामनारायण र उनका छोरा, कान्छी बुहारी निर्मलाका छोरा रिसु र राहुललाई उनीहरुको आमा (हजुरआमा) बुधियादेवीबाट जग्गा नामसारी भएर आएको थियो । अन्यलाई जग्गा अंशवापत दिएपछि उनको नाममा ८ वटा कित्तामा रहेका सात बिघा र त्यस बाहेक घर समेत रहेको सात कठ्ठा जग्गा राखिएको थियो ।
एकासगोगलको जग्गामा तीन अंशियारबीच अंश गर्ने प्रक्रिया चलिरहेको बेला बुधियादेवीका जेठो छोरा रामनारायण यादवको २०७५ असारमा निधन भयो । त्यसपछि उनका छोरा बजरंगी यादवले अंशबण्डा मुद्दा अदालतमा हाले । रामनारायाण बिरामी पर्दादेखि नै निर्मलाले बिचौलियासँग मिलेर चलखेल थालिसकेकी थिइन् । बजरंगीले हजुरआमा, काकी र आफूबीच अंश हुनुपर्ने भनेर हालेको मुद्दा अदालतमा मिलापत्र भयो । जसमा यी तीनै पक्षबीच मोरङ जिल्ला अदालतले २०७५ असोज १४ गते मिलापत्र गराउँदै अंशबण्डा गरिदिएको थियो ।

अदालतमा मिलापत्र, मालपोतमा धोका
अदालतले परिवारभित्रका तीनजनालाई अंशियार बनाएर मिलापत्र गराउँदै अंशबण्डा गरिदियो । जसमा पहिलो हकदार बने, बुधियादेव, रामनारायणका छोरा बजरंगी र सत्यनारायणकी श्रीमती निर्मला यादव । जसमा बजरंगीको नाममा ४८ कित्ता, निर्मलादेवीको नाममा ४८ वटा कित्ता, बुधियादेवीको नाममा ८ कित्ता जीउनी सहमति अनुसार अशंबण्डा गरिदियो । तर, बुधियादेवीको नाममा रहेका केहि जग्गाका कित्ता भने अंशबण्डामा छुटे । जसमा जहदा २ कित्ता नम्बर ५३, ५९, ६१ रहेका थिए । यी र यस्ता जग्गा जो अयोधीबाट बुधियादेवीको नाममा आएर अंशियारमा जानुपर्ने थियो । तर, ती जग्गामा मालपोतका कर्मचारी र बिचौलिया हावी भएर अन्तै बिक्री भइरहेको छ ।

त्यति मात्रै नभई २०७५ सालमा अदालतबाट अंशबण्डा मुद्दामा मिलापत्र भइसकेपछि यसको नापजाँच र कित्ताकाट गर्ने बेलामा समेत बिचौलिया, स्थानीय जनप्रतिनिध र कर्मचारीबीच मिलेमतो भएको खुलेको छ । यसपछि निर्मलाका छोराहरुको राहुल र रिसुको नाममा रहेका एकासगोलको जग्गा बजरंगीको नाममा ल्याउन अदालतले भनेको थियो । त्यसमा समेत खेलामेला सुरु गरिएको देखिन्छ । त्यसपछि अदालतको आदेश अनुसार निर्मला, बुधियादेवी र बजरंगीको नाममा आउनु पर्नेमध्ये निर्मलाले छोराहरुको नामको कतिपय जग्गा बिक्री गरिन् । जबकी ती जग्गाहरु पहिलो हकका अंशियारहरु बजरंगी, बुधियादेवी र निर्मलामा आइसकेपछि मात्रै बिक्री गर्न पाइन्थ्यो ।
बजरंगीको नाममा आउनुपर्ने भनिएको जग्गा समेत राहुल र रिसुबाट अन्तै बिक्री गर्न स्थानीय तहका जनप्रतिनिधिले सिफारिस गरिदिएका थिए । मालपोत र नापीका कर्मचारीले छलछाम गरेर सहजीकरण गरेको देखिएको छ । त्यस बाहेक बुधियादेवी को जीउनी भनेर राखिएको जग्गा समेत निर्मलासँग बिचौलिया मिलेर बिक्री गरिदिएका छन् । बुधियादेवीको एकासगोलको घर भएको सात कठ्ठा जग्गा समेत बिचौलिया हुँदै बिक्री गर्नका लागि स्थानीय जनप्रतिनिधिले सिफारिस गरिदिएका छन् । जसमा अंशियारबीच हुनुपर्ने सहमति छैन ।

यहि क्रम चलिरहँदा २०८० सालमा अंशियारमध्ये बजरंगीको निधन भएको थियो । त्यसपछि उनको नाममा आउनुपर्ने जग्गा उनकी श्रीमती सुस्मा कुमारी यादवले पाउनुपर्ने थियो । तर, अदालतले अंशियारको रुपमा जग्गा बण्डा गरिदिएका बजरंगीको निधनपछि उनको नाममा रहेको जग्गामा झन् धेरै बिचौलिया हावी हुँदै आएको छ । अहिले सुस्माको नाममा हुनुपर्ने ४८ कित्तामध्ये ३९ कित्ता मात्रै आएको छ । बाँकी ८ कित्ता जग्गा बिक्री भइसकेको छ । तर, यी आठ कित्तामा उल्लेख भएको जग्गा सम्बन्धित अंशियारको सहमति बिनै बिक्री भएको हो । हकदार सुस्माले यी जग्गाको श्रेस्ता लिनका लागि बारम्बार मालपोतमा माग गर्दा त्यहाँका कर्मचारीले दिन नमानेको उनको आरोप छ ।
यसैगरी हजुरआमा बुधियादेवीको नाममा रहेका कित्ताहरु समेत मालपोतले सुस्मालाई दिन मानेको छैन । हालसाविक गरेका कित्ता समेत हकवालालाई नदिई अन्यको नाममा गइसकेको बताउँदै आएको पीडितले बताइन् । यसैगरी बुधियादेवी यादवको नाममा रहेको घर समेत भएको भातिगथको सात कठ्ठा जग्गा समेत हकदारलाई जानकारी नदिईकन अनवर मियाँ हुँदै २०७८ सालमै अशोक र सुदर्शन साहको नाममा नामसारी भएको पाइएको छ ।

यहाँ पनि चलखेल
यो जग्गा मियाँलाई दिएर बुधियादेवीले पैसा लिएकी थिइन् । यसलाई फर्काउने शर्त थियो । तर, स्थानीय तहको रोहबरमा गरिएको कागजमा जग्गामा मियाँको भोगाधिकार कामय गरिएको थियो । घरको विषयमा भने एकासगोलको र बस्दै आएको हुनाले केहि बोलिएको थिएन । जहदा गाउँपालिकाका तत्कालिन वडा अध्यक्ष थिए, राजु श्रेष्ठ । स्थानीय तहले दृष्टिबन्धकी पास गराउन सिफारिस गरेको जग्गा अनवर मियाँले बीचमै बिक्री गरिदिए । जग्गा र त्यहाँ भएको घरसहित उनले अशोक साह र सुदर्शन साहलाई बिक्री गर्दा तत्कालिन वडा अध्यक्षले अर्को सिफारिस गरिदिएका थिए । अहिले अंशियारमध्ये बजरंगीकी श्रीमती सुस्माकुमारी यादवले जग्गा र त्यहाँको घर खोजिरहेकी छिन् । तर, मियाँबाट खरिद गरेका साहहरुले घर पुरै लडाएर बिक्री गरिदिएका छन् । त्यहाँ घर थियो की, थिएन भन्ने सिफारिस माग्न स्थानीय तहमा पुग्दा दिन मानेको छैनन । जहदा २ का वडा अध्यक्ष चन्द्रशेखर कुमार साहले नियम अनुसार मात्रै आफूले सिफारिस दिनसक्ने बताएका छन् । उनले यो जग्गाको विवाद आफ्नो भन्दा अघिल्लो कार्यकालमै बढी चलेको बताए ।

विराटनगरमा समेत उनै बिचौलिया
जहदामा मात्रै नभई विराटनगर १७ मा घर समेत रहेको पाँच कठ्ठा जग्गा स्वर्गिय अयोधी (बुबा), छोराहरु रामनारायण र सत्यनारायणको नाममा थियो । तर, यो जग्गा हत्याउन निर्मलाले आफ्नै श्रीमान सत्यनारायण भतिजासँग दाजुभाईको नाता प्रमाणित गरेर अंश लिएको देखिएको छ । रामनारायणका छोरा बजरंजी हुन्, बजरंगीका काका हुन् सत्यनारायण । तर, निर्मलाले सत्यनारायणलाई जेठाजु बनाएर छोरा रिसुलाई हस्ताक्षर गराएर अंश हत्याएकी छिन् । जसमा बिचौलिाले काम गरेका छन् । त्यसो हुँदा बजरंगी (रामनारायणका छोरा) ले पाउनुपर्ने २ कठ्ठा, निर्मलाले पाउनुपर्ने २ कठ्ठा र बुधियादेवीको नाममा जाने एक कठ्ठा जग्गा हुन्थ्यो । तर, निर्मलाले आफ्नो नामको जग्गा बिक्री गरिदिइन् । बाँकी बुधियादेवीको नाममा रहेको एक कठ्ठा जग्गा समेत उनले आफैं लिएपछि अहिले त्यसमा समेत मुद्दा चलिरहेको छ । बुधियादेवीको नाममा हुनुपर्ने जग्गा एकासगोलको हुनुपर्ने हो तर त्यस्तो नभएको अंशियार सुस्माले बताइन् ।

श्रीमान् बितेपछि सुस्माका दैनिकी
ठूलो परिवारमा विवाह गरेर माइतीले दिएपछि सुस्मालाई त्यो घर कहिल्यै सहज भएन । उनीसँग एउटै छोरी छिन् । त्यहि छोरीलाई हुर्काउन माइतमा बसेका बेला २०७५ सालमा अंशको प्रक्रिया थालिएको थियो । त्यो पनि आफ्नो ससुराको निधनपछि । आफ्ना श्रीमान पनि भारतमा बसेर आएकाले खासै धेरै कुरा नजान्ने गरेको उनी बताउँछिन् । अंशबण्डा हुँदा कहाँ के भयो भन्ने कुरा सुस्माले बुझ्न पाइनन् । तर, अहिले छोरी सात वर्षकी भएपछि उनी आफ्नो परिवारबाट पाउनुपर्ने अंश खोजिरहेकी छिन् । त्यसमा उनलाई आफ्ना श्रीमान्बाट पाउनुपर्ने भागको १३ बिघा जग्गा हुन्छ । त्यसमध्ये साढे तीन बिघा पहिले नै बिक्री भइसकेको छ । त्यस बाहेक बुढीसासु बुधियादेवीको नाममा भएको जग्गा एकलौटी बिक्री गरेर मासिएको छ । त्यस बाहेक अदालतले कित्ता बाँडफाँड गरिएको तर निर्मलाका छोराहरु रिसु र राहुलबाट बजरंगीको नाममा नआई बिक्री भएका जग्गा समेत उनले खोजिरहेको सुनाइन् । त्यति मात्रै नभई अंशबण्डामै छुटेका जग्गाहरु अहिले धमाधम बिचौलिया र मालपोतका कर्मचारी मिलेर अरुलाई बिक्री गरिरहेको उनको बुझाई छ । ती जग्गा पनि जुन अयोधी (बुढा ससुरा) र बुधियादेवी (बुढी सासु)को नाममा देखिन्छन्, उनले खोजिरहेकी छिन् ।

मालपोतमा टारटुर
सुस्माले जग्गा खोज्न थालेपछि अहिले सबैभन्दा सशंकित भने मालपोत कार्यालयका कर्मचारी बनेका छन् । सुस्माले यस अगाडी बाहिरका लेखनदासमार्फत डड्डामा भएका जग्गाको विवरण मगाएकी थिइन् । तर, दैनिक काम गर्नेहरुले ल्याउन सकेनन् । बरु भनिदिए, यो जग्गाको पछि लाग्दा कार्यालय भित्रै प्रवेश नपाइने रहेछ । त्यसपछि उनी कानुन व्यवसायीमार्फत त्यहाँ पुगिरहेकी छिन् । तर, कर्मचारीले दिएका छैनन । त्यसपछि उनी आफैं गइरहेकी छिन्, मालपोतका कर्मचारीले टारटुर मात्रै पारिरहेका छन् । पछिल्लो समय नयाँ सरकार आएपछि सुस्मा अझै कडाईपूर्वक आफ्नो हकाधिकार भएको जग्गा खोज्न कसिएको सुनाउँछिन् ।

मालपोत कार्यालय विराटनगरका प्रमुख राजेशप्रसाद पोखरेलले अंशका हकदारले आफ्नो जग्गा जमिन खोज्न पाउने अधिकारलाई कसैले पनि रोक्न नसक्ने जवाफ दिएका छन् । उनले आइतबार सञ्चारकर्मी समेत लिएर पुगिकी सुस्माकुमारीलाई आफूले पाउनुपर्ने सूचनाको विवरण खुलाएर दिन आग्रह गरेका छन् । के के विवरण हेर्ने भन्ने कुरा यकिन गरेर दिएपछि सबै विवरण उपलब्ध गराउने आश्वासन दिएका हुन् ।

अदालतले गरेको अंश बाँडफाँड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्