सोनु साह
विराटनगर। सरकारको निर्णयअनुसार आइतबारबाट सार्वजनिक गरेको नयाँ कार्यसमय सोमबारदेखि देशभर लागू भएको छ। अब सरकारी कर्मचारीहरू बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म अनिवार्य रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ। सोही निर्णयको प्रभाव सार्वजानिक सेवा प्रवाहका कार्यलयमा बुझ्दा सेवाग्राही र सेवाप्रवाह गर्नेहरुले यसलाई सकारात्मक भनेका छन् । बिहानैदेखि सेवा लिन आएका सेवाग्राहीहरूले सरकारको यो निर्णयप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।
बिहान ९ः२५ बजे कार्यालय पुगेका सेवाग्राही कुबेर पोख्रेलले सरकारको निर्णय “एकदमै स्वागतयोग्य” भएको बताए। उनका अनुसार यसले कार्यान्वयन पक्षलाई मजबुत बनाउने र सेवा प्रवाह छिटो तथा सहज हुने विश्वास व्यक्त गरे। “यसले सेवाग्राहीको समय पनि बचत गर्छ,” उनले भने। विराटनगर–५ की राधा कामतले मोबाइलमा समाचार हेरेपछि थाह पाएपछि बिहानै कार्यालय पुगेको बताउँदै भनिन्, “आज १० बज्नुअघि नै मेरो काम सकियो, म निकै खुसी छु।” उनले यो निर्णय निजी क्षेत्रमा काम गर्नेहरूका लागि पनि उपयोगी हुने बताइन्। किन कि सरकारी काम गराएर निजी क्षेत्रको कार्यरत रहेका व्यक्तिको लागि फाईदाजनक रहेको बताइन्।
त्यस्तै विराटनगर–२ की सोधा पोख्रेलले पनि निर्णयको प्रशंसा गर्दै भनिन्, “पहिले १० बजे समय भए पनि कर्मचारी ११ बजे आउँथे, काम दुई–तीन दिन लम्बिन्थ्यो। अहिले भने ९ बजेबाटै काम सुरु हुँदा एकै दिनमा काम सकिने अवस्था देखिएको छ।” उनले बिस्तारै अझ सुधार हुने आशा व्यक्त गरिन्। विराटनगर–९ का महमोहन अग्रवालले हप्तामा दुई दिन बिदा र ९–५ कार्यसमयको व्यवस्था उत्कृष्ट भएको बताए। “यदि यसको कार्यान्वयन प्रभावकारी भयो र माथिल्लो निकायबाट नियमित अनुगमन भयो भने ढिलो आउने र काममा ढिलाइ हुने समस्या घट्दै जान्छ,” उनले भने।
सरकारले राजपत्रमा प्रकाशित सूचनाअनुसार विद्यालय, सरकारी अस्पताल, बैंक लगायत सबै सरकारी निकायमा कार्यरत कर्मचारीहरूलाई बिहान ९ बजेसम्म कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था लागू गरेको जनाएको छ। नयाँ कार्यसमयको सुरुवातसँगै सेवाग्राहीहरूमा उत्साह देखिएको छ भने प्रभावकारी कार्यान्वयन भएमा सेवा प्रवाह अझ चुस्त हुने अपेक्षा गरिएको छ।