विराटनगर । विराटनगरस्थित ग्रीनल्याण्ड कलेजले “अर्गानिक रियाक्सन कनभर्जन” विषयमा एकदिने पोस्टर प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। २०८२ चैत २२ गते आयोजित उक्त कार्यक्रम कलेजका निर्देशक सुरज कुमार साहको योजना तथा मार्गदर्शनमा सञ्चालन गरिएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा प्रस्तुति सीप विकास गर्नुका साथै सार्वजनिक बोलाइप्रति आत्मविश्वास अभिवृद्धि गर्नु रहेको कलेजले जनाएको छ। कक्षा १२ को रसायनशास्त्र पाठ्यक्रमसँग सम्बन्धित यो कार्यक्रम आगामी एनईबी परीक्षालाई लक्षित गर्दै आयोजना गरिएको हो।
कार्यक्रममा विभिन्न विद्यार्थी समूहहरूले अर्गानिक रियाक्सन कनभर्जनसम्बन्धी विषयमा आकर्षक पोस्टरमार्फत प्रस्तुति दिएका थिए। कार्यक्रममा कलेजका निर्देशक पवन शाहले विद्यार्थीहरूले पाठ्यक्रममा समावेश उपयोगी रियाक्सनहरू तथा तिनका कृषि, औषधि उद्योग, उन्नत सामग्री, खाद्य, वस्त्र, सौन्दर्य प्रसाधन, पेट्रोलियम र भान्सालगायत क्षेत्रमा हुने प्रयोगबारे ज्ञान हासिल गरेको बताए।
त्यसैगरी, कलेजका प्राचार्य दिनेश दाहालले यस्ता सीपमूलक कार्यक्रमहरूले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे। उनले ग्रीनल्याण्ड कलेजले विद्यार्थीहरूको समग्र विकासका लागि अतिरिक्त क्रियाकलापमा समेत जोड दिँदै आएको बताए।
उक्त कार्यक्रममा १२ समूहको सहभागिता रहेको थियो। पोस्टरहरूको मूल्यांकन सहप्राध्यापक डा. सुजित कुमार शाह तथा सहप्राध्यापक शिव कुमार यादवले गरेका थिए। उत्कृष्ट प्रदर्शन गर्ने समूहहरूलाई नगद पुरस्कार प्रदान गरिएको जानकारी कलेजका अध्यक्ष रबिन्द्र घिमिरेले दिए।
कार्यक्रममा निर्देशकहरू पिताम्बर लुइटेल, पुरुषोत्तम राज कर्की, गोविन्द सुबेदी तथा पुनम कुमारी शाहको समेत उपस्थिति रहेको थियो। साथै, एमएस्सी रसायनशास्त्रका विद्यार्थीहरूलाई पनि अवलोकनका लागि आमन्त्रित गरिएको थियो। कलेजका अनुसार यस कार्यक्रमले विद्यार्थीहरूमा विषयगत ज्ञानसँगै प्रस्तुति क्षमता र आत्मविश्वास विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।