विराटनगर । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई सिफारिस गरेका थिए । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई गम्भीर बन्न सचेत गराउन समेत पत्रमा उल्लेख गरिएको छ ।
सभापति लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेर साहलाई जिम्मेवारी बाट अलग गराउन भनेपछि उनले हटाएका छन् । पार्टीको विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने व्यवस्था भएकोले पत्रमा उल्लेख गरेका छन् । यसैगरी यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीर्यता नदेखिएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई सचेत गराउन सिफारिस गरिएको छ ।
रास्वपाले मन्त्री साहले पदीय पर्यादा दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय राखिएको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउने गरेको पाइएको बताएको छ । पार्टीको अनुशासन आयोगले पनि मन्त्रीले पदीय मर्यादाविपरीत कार्य गरेको ठहर गरेको लामिछानेले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ ।