विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र मिठाईमा नङ भेटिएको घटनापछि महानगर तत्काल सक्रिय भएको छ। विराटनगर मेनरोडस्थित बिकानेर स्वीट्स मा बिक्री भइरहेको कलाकन्दभित्र मानिसको नङ फेला परेपछि उपमेयरसहितको टोलीले छडके अनुगमन गरेको हो।
विराटनगर–५ की साइसवि निरौलाका अनुसार उनले उक्त पसलबाट जेरी र कलाकन्द खरिद गरेर घरमा ल्याएकी थिइन्। कलाकन्द खाने क्रममा मिठाईभित्र नङ फेला परेको उनले बताइन्। त्यसपछि उनले पसलमा फोन गरेर गुनासो राखेकी थिइन्। पसलका कर्मचारीले गल्ती हुन सक्ने भन्दै माफी माग्दै पैसा फिर्ता गरेको र उनले सामान पनि पसलमै फिर्ता गरेकी थिइन्।





घटनाबारे जानकारी पाएलगत्तै विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की सहित खाद्य प्रविधि टोलीले पसलमा छडके अनुगमन गरेको थियो। अनुगमनका क्रममा टोलीले नङ भेटिएको भनिएको मिठाईको नमुना परीक्षण गर्नुका साथै भान्साघरको सरसफाइ र कामदारहरूको अवस्था समेत जाँच गरेको थियो। कामदारहरूको नङसमेत चेक गरिएको थियो।
पसल सञ्चालकले भने उक्त वस्तु नङ नभई कलाकन्दमा प्रयोग हुने मसालाको बोक्रा हुन सक्ने दाबी गरेका छन्। यद्यपि महानगरको टोलीले विस्तृत जाँचपछि मात्र निष्कर्ष निकाल्ने जनाएको छ।
उपमेयर कार्कीले खाद्य सामग्रीमा कुनै पनि प्रकारको लापरवाही पाइए कडा कारबाही गरिने चेतावनी दिँदै महानगरले नियमित रूपमा छडके अनुगमन जारी राख्ने बताइन्।