विराटनगर । विराटनगर–६ स्थित ग्रीन पिस एकेडेमी विद्यालयले आफ्नो वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले प्रत्येक वर्षझैँ यस वर्ष पनि विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो।
कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, नाटक, कविता, वक्तृत्वकलालगायतका विभिन्न प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। यस्ता गतिविधिले विद्यार्थीको आत्मविश्वास वृद्धि गर्नुका साथै बोल्ने कला र व्यक्तित्व विकासमा टेवा पुर्याउने विद्यालयको विश्वास रहेको छ।



विद्यालयका प्रिन्सिपल मो. हासिमका अनुसार वार्षिकोत्सवको उद्देश्य अभिभावक र विद्यालयबीचको सम्बन्ध सुदृढ गर्नुका साथै अभिभावकलाई आफ्ना बालबालिकाको प्रगति प्रत्यक्ष देखाउने रहेको छ। कार्यक्रममा करिब ७ सयभन्दा बढी अभिभावकको उपस्थिति रहेको थियो।
विद्यार्थीहरूले विज्ञानतर्फ पनि नयाँ–नयाँ प्रविधि र डिजाइनहरू तयार गरी प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको विद्यालयले जनाएको छ।
साथै कार्यक्रममा विद्यार्थीहरूको दीक्षान्त समारोहसमेत सम्पन्न गरिएको थियो। विद्यालयका अनुसार वार्षिकोत्सव पढाइ मात्र नभई विद्यार्थीको समग्र विकास—शैक्षिक, सांस्कृतिक र अनुशासनिक पक्षको समन्वय गर्ने महत्वपूर्ण अवसर हो।