नयाँ वर्षको बिहान,
सहरको हावा केही फरक थियो । जस्तो कि हरेक मानिसले नयाँ आशा बोकेको होस्।
ईश्वर, आफ्नो पुरानो क्यामेरा काँधमा झुन्ड्याउँदै, सडकमा निस्किएको थियो। ऊ सामान्य केटा थियो, तर उसको आँखा असाधारण थियो, किनकि ऊ संसारलाई अरूले देखेजस्तो होइन, महशुष गरेर हेर्थ्यो।
त्यही बेला;
भीडको बीचमा उभिएकी एक केटीमा उसको नजर अडियो।
सेतो कुर्ता, हल्का निलो दुपट्टा, र अनुहारमा शान्त, अलिकति उदास मुस्कान…
ऊ अगाडि बढ्यो-
“Excuse me… तपाईंको फोटो खिच्न मिल्छ?”
केटी अलि छक्क परिन्,
“किन? म त्यस्तो खास कोही त होइन नि…”
ईश्वर मुस्कुरायो,
“खास हुनलाई नाम चाहिँदैन… अनुभूति नै काफी हुन्छ।”
उनको नाम भावना थियो उनि केही बेर चुप भइन्, अनि भनिन् :
“ठिक छ… एउटा मात्रै।”
क्लिक!
त्यो एउटा फोटो मात्र फोटो थिएन,
दुई जीवनको सुरुवात थियो।
त्यसपछि उनीहरू नजिकिँदै गए।
म्यासेज, भेटघाट, कफी, लामो कुराकानी…
ईश्वरका साथी रमेश यादवले जिस्क्याउँथ्यो,
“ए यार, तिमी त साँचिकै फसिस्!”
तर ईश्वरलाई थाहा थियो:
ऊ केवल फसेको थिएन, ऊ प्रेममा डुबिसकेको थियो त्यो पनि चुर्लुम्मै।
तर भावनाको मुस्कानभित्र लुकेको पीडा उसले चाँडै बुझ्यो।
एकदिन भावनाकी साथी आशाले भनिन्-
“उसको विवाह जबरजस्ती तय गरिएको छ…”
त्यो सुनेर ईश्वरको मन चकनाचुर भयो।
त्यो रात-
उसले सोध्यो,
“तिमीले किन मलाई यो कुरा लुकायौ?”
केटीको आँखामा आँसु भरियो-
“म तिमीलाई गुमाउन चाहन्न थिएँ… तर म तिमीलाई पाउन पनि सक्दिन…”
समयले उनीहरूलाई छुटायो।
विवाह भयो।
मण्डपमा बसेकी भावना-
सिन्दूर लगाउँदा आँखा रसाए, तर आवाज आएन।
नयाँ घर, नयाँ सम्बन्ध…
तर मन भने पुरानै प्रेममा अड्किएको।
उनका श्रीमान नराम्रो थिएनन्।
बरु उनी बुझ्ने, शान्त, र सम्मान गर्ने व्यक्ति थिए।
एकदिन उनले सोधे :
“तिमी खुशी छैनौ, है?”
भावना चुप भइन्।
केही समयपछि उनले सबै सत्य भनिन्;
“म कसैलाई मन पराउँथे…”
त्यो सुनेर पनि उनका श्रीमान रिसाएनन्।
“जीवन कहिलेकाहीँ हाम्रो हातमा हुँदैन…”
उनले भने,
“तर म तिमीलाई जबरजस्ती खुशी बनाउन चाहन्न।”
त्यो दिनदेखि,
उनीहरूबीच एक अजीब तर सम्मानपूर्ण दूरी बस्यो।
घरको अवस्था कमजोर थियो।
एकदिन उनका श्रीमानले भने:
“म वैदेशिक रोजगारमा जान्छु… रूसको सेनामा भर्ती हुन्छु।”
केटी डराइन् ;
“त्यो त खतरनाक हुन्छ…”
उनी मुस्कुराए ,
“जीवन आफैँ युद्ध हो…”
र उनी गए।
दिनहरू बिते।
कहिलेकाहीँ फोन आउँथ्यो-
“म ठिक छु…”
तर आवाजमा डर लुकेको हुन्थ्यो।
एकदिन,
फोन आयो।
तर आवाज अपरिचित थियो।
“हामी सैन्य विभागबाट बोलिरहेका छौँ… तपाईंका श्रीमान युद्धमा मारिनुभयो…”
फोन हातबाट खस्यो।
त्यो पीडा;
शब्दभन्दा गहिरो थियो।
भावना एक्लै भइन्।
उनले सोचिन् ,
“मैले उनलाई माया गर्न सकिन…
तर उनले मलाई कहिल्यै दोष दिएनन्…”
उनले पहिलोपटक उनका श्रीमानको फोटो अँगालेर रोइन्।
त्यो आँसु -
प्रेमको मात्र होइन,
अपराधबोधको पनि थियो।
एक वर्ष बित्यो।
फेरि नयाँ वर्ष आयो।
ईश्वर फेरि उही सडकमा उभिएको थियो।
उसको मन अझै त्यही पहिलो “क्लिक” मा अड्किएको।
अचानक !
“Excuse me… मेरो फोटो खिचिदिनुहुन्छ?”
त्यो आवाज…
ऊ फर्कियो।
त्यही केटी।
भावना ।
तर अब उनी फरक थिइन् ,
उनको आँखामा पीडा, साहस, र जीवनको गहिरो अनुभव थियो।
“म फर्किएँ…”
उनले भनिन्,
“तर म पहिले जस्तो छैन…”
ईश्वर चुप रह्यो।
“मैले विवाह गरेँ…”
उनले विस्तारै भनिन्,
“र उनले युद्धमा ज्यान गुमाए…”
ईश्वरको आँखामा आँसु आयो।
“म दुई प्रेमको बीचमा थिएँ…”
उनले भनिन्,
“एक जसलाई म छोड्न चाहिनँ…
र अर्को जसलाई मैले कहिल्यै दिन सकिन…”
ईश्वरले उनको हात समात्यो :
“प्रेम केवल पाउनु होइन… बुझ्नु पनि हो…”
त्यो क्षण -
दुई आत्मा फेरि जोडिए।
तर यसपटक,
यो केवल रोमान्स थिएन।
यो परिपक्व प्रेम थियो।
त्याग, पीडा, र सम्मानले भरिएको।
ईश्वरले क्यामेरा उठायो ;
“यसपटक फोटो फरक हुनेछ…”
“किन?” उनले सोधिन्।
“किनकि यसमा केवल प्रेम होइन…
जीवनको पूरा कथा हुनेछ…”
क्लिक!
त्यो फोटोमा;
दुई अनुहार मात्र थिएनन्।
त्यहाँ एउटा अधुरो प्रेमको पूर्णता थियो,
एक शहीद आत्माको सम्मान थियो,
र दुई मुटुको पुनर्जन्म थियो।
सन्देश
प्रेम सधैँ सजिलो हुँदैन…
कहिलेकाहीँ यसले हामीलाई तोड्छ, बदल्छ, र परिक्षा लिन्छ।
तर यदि त्यो साँचो छ भने,
कहिल्यै हराउँदैन।
यो रूप बदल्छ, गहिरिन्छ,
र अन्ततः
आफ्नो सही ठाउँमा फर्किन्छ।
-ईश्वर रेग्मी (विराटनगर-३,आयल निगम)