विराटनगर। खुला सीमाबाट हुने चोरी पैठारी तथा अवैध निकासी नियन्त्रण गर्ने उद्देश्यले विराटनगरको रानी भन्सार नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ। संघीय सरकारले अवैध आयात–निर्यात नियन्त्रण गर्ने नीति अघि बढाएसँगै प्रदेश र स्थानीय तहको समन्वयमा भन्सार क्षेत्रमा निगरानी तीव्र पारिएको हो।
रानी नाकामा भन्सार प्रशासन, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा चेकजाँच कडाइ गरेका छन्। भारतबाट सामान लिएर आउने व्यक्तिहरूमाथि विशेष निगरानी राखिँदै आएको छ। सरकारले निर्धारण गरेको व्यवस्थाअनुसार अब १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य रूपमा भन्सार तिर्नुपर्नेछ।
यद्यपि, उक्त नियम पूर्ण रूपमा कार्यान्वयन हुन भने अझै चुनौती देखिएको छ। खुला सिमाना र दैनिक आवतजावतका कारण व्यवहारिक रूपमा कडाइ लागू गर्न कठिनाइ भइरहेको सरोकारवालाहरू बताउँछन्।




भन्सार क्षेत्रमा ‘स्निफिङ कुकुर’ समेत परिचालन गरिएको छ, जसले विस्फोटक पदार्थ तथा अन्य अवैध सामग्री पहिचान गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यस कदमले सीमा नाकाबाट हुने गैरकानुनी गतिविधि न्यूनीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ।
यता, कडाइ बढेसँगै स्थानीय बासिन्दाले दैनिक उपभोगका घरायसी सामग्री ल्याउँदा अत्यधिक कडाइ नगर्न प्रशासनसँग आग्रह गरेका छन्। प्रशासन भने राजस्व संरक्षण र अवैध कारोबार नियन्त्रणका लागि कडाइ आवश्यक रहेको बताउँदै आएको छ।
यसअघि पनि यस्तै नियम ल्याइए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन। खुला सीमाको चुनौतीबीच अहिलेको कडाइ कत्तिको सफल हुन्छ भन्ने विषय भने हेर्न बाँकी छ।