विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको संयुक्त पहलमा नवउद्यमीहरूका लागि 'व्यवसाय सम्वर्द्धन कार्यक्रम' आयोजना हुने भएको छ । नयाँ सोच भएका उद्यमीहरूलाई मार्गदर्शन र व्यवसाय वृद्धिको उद्देस्य ले ३ महिने कार्यक्रम संचालन गर्न लगिएको हो ।
यस कार्यक्रममा विशेषगरी युवा, नयाँ उद्यमी, महिला नेतृत्वका स्टार्टअपहरू र साना, मझौला तथा लघु उद्यमीहरुले आवेदन दिन सक्नेछन्। आयोजकका अनुसार २ देखि ४ सदस्य भएको र बहु-विषयगत ज्ञान भएका टोलीलाई छनोटमा प्राथमिकता दिइनेछ। कृषि व्यवसाय, खाद्य प्रशोधन, पर्यटन तथा आतिथ्य, सूचना तथा सञ्चार प्रविधि र हरित व्यवसाय गरि कार्यक्रमले पाँचवटा मुख्य क्षेत्रहरूलाई प्राथमिकतामा राखेको छ ।

छनोट भएका सहभागीहरूले आफ्नो व्यावसायिक विचारलाई प्रमाणीकरण गर्नेदेखि व्यवसाय योजना विकास गर्ने सम्मको अवसर पाउनेछन्। साथै, कानुनी तथा दर्ता सहयोग, वित्तीय साक्षरता तालिम, बजार पहुँचका लागि मार्गदर्शन र लगानीकर्ताहरूसँग सम्पर्क गराइने व्यवस्था छ। यो कार्यक्रम अन्तर्गत ६ महिनाको पूर्ण उद्यमी कार्यक्रममा प्रवेशको अवसर समेत रहनेछ।
इच्छुक उद्यमीहरूले २०८३ वैशाख १५ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। आवेदनका लागि नागरिकताको प्रतिलिपि, व्यवसाय अवधारणा पत्र , स्थायी लेखा नम्बर र सम्बन्धित जिल्ला वा नगर उद्योग वाणिज्य संघको सिफारिस पत्र आवश्यक पर्नेछ । सहभागी हुन चाहनेहरूले विराटनगरको बरगाछीमा रहेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको कार्यालयमा सम्पर्क गर्न वा पोस्टरमा उपलब्ध क्युआर कोड स्क्यान गरी अनलाइन बाट फारम भर्न सक्नेछन् ।