विराटनगर । विराटनगरमा जारी ३८ औं संस्करणको विराट गोल्डकपमा घरेलु टिम विरुद्ध नेपाल फुटबल संघ (एन्फा) मोरङले षड्यन्त्र गरेको आरोप लागेको छ । उपाधिका लागि पूर्व विजेता झापा–११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लबबीच शनिबारको फाइनल खेल वर्षात्ले रोकिएपछि आइतबारलाई सारिएको थियो ।
तर, आइतबार हुने फाइनल खेल अगावै सम्राट स्पोर्टिङ्गका दुईजना खेलाडीलाई एन्फाले भगाइदिएको आरोप लागेको हो । सहिद रंगशालामा आइतबार साँझ फाइनल भिडन्त हुनु अगावै सम्राट स्पोर्टिङका अध्यक्ष किरण गिरीले फेसबुकमार्फत षड्यन्त्र भएको बताएका छन् । त्यति मात्रै नभई उनले यसको हिसाबकिताब समेत गर्ने बताएका छन् ।
गिरीले आफ्नो फेसबुक पेजमा लेखेका छन् ‘मोरङ फुटबलको ठालुहरुको हैसियत देखियो ! दलाल सबैको हिसाब किताब हुन्छ ।’ शनिबार वर्षातपछि मैदानमा पानी जमेर खेल स्थगीत गरिएको थियो । विराट गोल्डकपको इतिहासमा झापा–११ दोस्रो पटक उपाधि उचाल्ने दाउमा छ । घरेलु मैदानको फाइदा उठाउँदै सम्राट स्पोर्टिङ क्लब पहिलो सहभागितामै सफलता हात पार्न लक्ष्यमा रहेको बेला दुईजना खेलाडी नै भगाई दिएको आरोप छ ।
एन्फा मोरङका अध्यक्ष सन्जीब बुढाथोकीले गएको निर्वाचनको मतपरिणामपछि विदेशी दलालका कारण भनेजस्तै अहिले यो विषय बाहिर आइरहेको बताए । उनले सम्बन्धित क्लवले कसरी खेलाडीसँग सम्झौता गरेको हो, त्यसका आधार चाँहि खोज्नुपर्ने बताए । ‘आफ्नै खु्ट्टामा बन्चरो कसैले हान्दैन’ अध्यक्ष बुढाथोकीले भने–यस्तो आरोप लगाउने भन्दा पनि बसेर समिक्षा गर्नु चाँहि उचित हुन्छ । कसैले मोरङलाई अपमानित गर्दैन, गर्नपनि मल्दिैन ।