विराटनगर, वैशाख १० गते।
मोरङ प्रहरीले विराटनगर महानगरपालिका–९ सोमबारेस्थित एक खाली घरमा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठको कमाण्डमा खटिएको टोलीले सोमबार राति करिब ८:१५ बजे छापा मारेको हो। खानतलासीका क्रममा जुवाजन्य तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट ३ बुक तास, नेपाली नगद रु. ४४,१६५ र भारतीय नगद रु. २,५०० समेत बरामद गरेको छ।
पक्राउ पर्नेहरूमा विराटनगरका विभिन्न वडाका खगेन्द्र गिरी (५७), एतन कुमार खड्का (६२), भरत प्रसाई (५७), राजु रन्जीतकार (५६), सुरेन्द्र बहादुर काकीं (६१) र लक्ष्मण सहनी (४२) रहेका छन्।
हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।