विराटनगर। पूर्वी नेपालको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लामा लागु औषध नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको छ। पछिल्लो समय निरन्तर सञ्चालन गरिएका विशेष अभियानको क्रममा विभिन्न स्थानबाट ठुलो परिमाणमा लागु औषधसहित सयौँ व्यक्ति पक्राउ परेका छन्।
यस क्रममा कोशी प्रदेशको विभिन्न स्थानबाट प्रहरीले एकै दिन ब्राउन सुगरसहित ८ जनालाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
यस क्रममा झापाको अर्जुनधारा नगरपालिका–११ मा गरिएको सघन चेकजाँचका क्रममा लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय अनारमनी तथा अस्थायी प्रहरी बिट बसपार्कको संयुक्त टोलीले २५ वर्षीय संजोग राई, २५ वर्षीय रूपेश दर्जी र ३७ वर्षीय अमृत दर्जीलाई २७ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर र एक मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।
त्यस्तै, सुनसरी जिल्लामा पनि प्रहरीले सक्रियता बढाउँदै अलग–अलग स्थानबाट दुई जनालाई पक्राउ गरेको छ। भोक्राहा नरसिंह गाउँपालिका–३बाट इनरुवा–२ निवासी सैफअली सिदिकीलाई २० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको छ भने कोशी गाउँपालिका–१ बाट वराहक्षेत्र नगरपालिका–६ का हरिबहादुर श्रेष्ठलाई ५३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।
मोरङको विराटनगर–१६ मा सञ्चालन गरिएको अपरेसनमा इलाका प्रहरी कार्यालय रानी तथा लागु औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले सुन्दरहरैँचा–५ का समिर चौधरीलाई २१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
यसैगरी उदयपुरको बेलका–१ क्षेत्रमा प्रहरीले मोटरसाइकल जाँच गर्ने क्रममा चौदण्डीगढी नगरपालिका–७ का आर्जु राई र मोटरसाइकल पछाडि सवार श्यामकुमार कार्कीलाई १५५ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पछिल्लो समय झापा, मोरङ र सुनसरी क्षेत्रमा लागु औषध ओसारपसार तथा दुरुपयोग नियन्त्रणका लागि विशेष निगरानी, सघन चेकजाँच र संयुक्त अपरेसनहरू तीव्र पारिएको छ। सीमा क्षेत्र तथा मुख्य आवागमन मार्गहरूमा समेत निगरानी कडा बनाइएको छ।
प्रहरीले लागु औषधविरुद्ध “शून्य सहनशीलता” नीति अपनाउँदै यस्तो अवैध क्रियाकलाप नियन्त्रण गर्न निरन्तर अभियान सञ्चालन गरिरहेको कोशी प्रदेशका प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो। पक्राउ परेकाहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
पछिल्लो समय स्थानीय तह, समुदाय र सरोकारवाला निकायसँग सहकार्य गर्दै लागु औषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाइएको कार्यालयले जनाएको छ।