विराटनगर । नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गरेको ‘स्वीप अपरेशन’ मा ७२ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लागूऔषध बिक्री–वितरण, सेवन, समाजमा अशान्ति फैलाउने, टोल–गुण्डागर्दी गर्ने, चोरी तथा धम्की दिने जस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रण गर्ने उद्देश्यले उक्त अपरेशन सञ्चालन गरिएको हो।
प्रहरीले दिएको जानकारी अनुसार २०८३ वैशाख ९ गते बेलुका ६ बजेदेखि ११ गते बिहान ६ बजेसम्म जिल्लाका विभिन्न स्थानमा गरिएको विशेष अभियानका क्रममा लागूऔषध कारोबार तथा सेवन, मदिरा सेवन गरी होहल्ला गर्ने र शंकास्पद रूपमा रातिको समयमा हिँडडुल गर्ने ७२ जनालाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले यस्ता अपरेशनलाई आगामी दिनमा समेत निरन्तरता दिने बताएको छ।