विराटनगर । कोशी अस्पताल मा मोरग क्षेत्र नं ६ की सांसद रुविना आर्चायद्वारा विस्तृत निरीक्षण तथा अवलोकन गरिएको छ। निरीक्षणका क्रममा विशेषगरी आपतकालीन वार्डको अवस्थाबारे नजिकबाट मूल्याङ्कन गर्दै सेवा प्रवाह, जनशक्ति व्यवस्थापन तथा बिरामीले भोगिरहेका समस्याहरूको अध्ययन गरिएको हो।
निरीक्षणका क्रममा सांसद आर्चायले बिरामीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले पाउँदै आएका सेवा–सुविधा, भोग्नुपरेका कठिनाइ तथा अपेक्षाबारे जानकारी लिएका थिए। बिरामीहरूले अस्पतालमा सेवा प्रवाह ढिलो हुने, डाक्टर भेट्न घण्टौँ कुर्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन्। आजको निरीक्षणमा समेत यस्तो अवस्था देखिएको जनाइएको छ, जसले सेवा व्यवस्थापनमा सुधारको आवश्यकता औँल्याएको छ।
यसैबीच, अस्पताल परिसरमा निर्माणाधीन पूर्वाधारका कामहरू छिटो, गुणस्तरीय र प्रभावकारी रूपमा सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। विकास निर्माणमा ढिलासुस्ती हुन नदिन तथा स्वास्थ्य सेवाको स्तर सुधार गर्न विशेष चासो व्यक्त गरिएको छ।
सांसद आर्चायले अस्पताल व्यवस्थापनलाई सेवा प्रवाहलाई अझ प्रभावकारी, सहज र जनमैत्री बनाउन आवश्यक सुधारका कदम चाल्न सुझाव दिएका छन्। साथै, समग्र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि सम्बन्धित निकायले शीघ्र पहल गर्ने विश्वास व्यक्त गरिएको छ।