सोनु साह
विराटनगर । विराटनगर महानगरपालिकाले वैशाख ११ गतेदेखि बजार क्षेत्रका फुटपाथ अतिक्रमण हटाउन अभियान सञ्चालन गरेपनि यसको प्रभावकारी कार्यान्वयनमा चुनौती देखिएको छ। नगर प्रहरीले गरेको आग्रहलाई वेवास्ता गर्दै व्यापारीले सामान फुटपाथमा सार्ने गरेका छन् । फेरी नगर प्रहरी आउँदा सुटुक्क भित्र हाल्ने गर्दै आएका छन् ।
महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की आफैं व्यापारीसम्म आएर फुटपाथ खाली गरेर सहयोग गरिदिन आग्रह गरेकी थिइन् । केहि व्यापारीले त्यो आग्रहलाई स्वीकार पनि गरेका छन् । तर, केहिले गर्ने र कहिले नगर्ने कार्य हुँदा महानगरपालिकाको यो अभियान विस्तारै खुम्चिन सक्ने आशंका बढाएको छ ।
महानगरले पुरानो गुद्री क्षेत्रलाई प्राथमिकतामा राख्दै पहिलो चरणमा व्यवस्थापन थालेको थियो। सो क्रममा केही व्यापारीले स्वेच्छाले फुटपाथ खाली गरेर सहयोग गरे । स्थानीयका अनुसार व्यापारीहरूले सामान फुटपाथमै राख्ने, नगर प्रहरी आएको बेला मात्र भित्र सार्ने र पुनः बाहिर निकाल्ने प्रवृत्ति बढेको छ। महानगरले कडाइ नगर्दा व्यापारीहरू नियमप्रति गम्भीर नभएको उनीहरूको गुनासो छ। “नगर प्रहरीले हेरे पनि कारबाही नगर्दा समस्या जस्ताको तस्तै छ,” एक स्थानीयले बताए।
यता नगर प्रहरी प्रमुख राजन पौडेलले फुटपाथ व्यवस्थित गर्न अभियान जारी रहेको र नियम उल्लंघन गर्नेलाई कारबाही गरिने स्पष्ट पारे। उनले पसलका छाना तथा संरचनाहरू मापदण्डअनुसार नभए कारबाही गरिने र अतिक्रमण पूर्ण रूपमा हटाइने बताए। पौडेलले कसले गरिरहेको छ भन्ने कुरा सिसी टिभीबाट पनि हेरिरहेको बताएका छन् । तर, केहि पटक फिल्डमै पुगेर सम्झाउँदा पनि उल्लंघन गरेको पाइएमा सिसी टिभीबाट देखिएको दृष्यका आधारमा आकस्मिक रुपमा सामान उठाइने उनले बताएका छन् ।
तर, आइतबार देखिएको अवस्थाअनुसार अझै पनि धेरै स्थानमा फुटपाथमै पसल सञ्चालन, ब्यानर राख्ने, मोटरसाइकल धुने तथा सवारी पार्किङ गर्ने कार्य जारी रहेको छ। यसले सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भइरहेको छ। स्थानीयहरूले नियम उल्लंघन गर्नेलाई कडा कारबाही गरे मात्र फुटपाथ व्यवस्थापन सम्भव हुने बताएका छन्।