सोनु साह
विराटनगर । लामो समयदेखि बन्द रहेको ट्राफिक लाइट अन्ततः पुनः सञ्चालनमा आएको छ । भदौ २३ गते भएको ‘जेनजी आन्दोलनका क्रममा तोडफोड गरिएका ट्राफिक लाइटहरू ८ महिनासम्म बिग्रिएको अवस्थामा रहेका थिए । यसले सवारी आवागमन व्यवस्थापनमा गम्भीर असर पारेको थियो ।
जिल्ला ट्राफिक कार्यालयका प्रमुख सन्तोष न्यौपानेका अनुसार महानगरका विभिन्न ६ स्थानमध्ये हाल ५ स्थानमा ट्राफिक लाइट मर्मत गरी सञ्चालनमा ल्याइएको छ । विराटनगर महानगरपालिका–१२ को रोडशेष चोक, वडा नं ६ को घास चौक, वडा नं ५ को बरगाछी चोक, वडा नं ७ को जलजला चोक र वडा नं ३ को तीनपैनी चोकमा लाइट सञ्चालनमा आएको छ । महानगर–४ र ३ स्थित कञ्चनबारीमा भने पोल नै मर्मत गर्नुपर्ने भएकाले काम जारी रहेको उनले जानकारी दिए ।
ट्राफिक लाइट नहुँदा चालक तथा सर्वसाधारणमा अनुशासन कमी देखिएको भन्दै न्यौपानेले अब लाइट सञ्चालनसँगै सवारी सञ्चालन व्यवस्थित हुने र दुर्घटना समेत न्यूनिकरण हुने विश्वास व्यक्त गरे । उनले सबै चालकलाई ट्राफिक नियम पालना गर्न आग्रह समेत गरेका छन् ।
आन्दोलनका क्रममा पैदलयात्रीका लागि प्रयोग हुने जेब्राक्रस लाइट, एमसीबी, स्विच बोर्ड, ट्राफिक लाइटको ब्याट्री र इन्भर्टर लगायतका उपकरणहरू क्षतिग्रस्त बनेका थिए । विराटनगर महानगरपालिका भौतिक पूर्वाधार शाखाका प्रमुख इन्जिनियर अर्जुन थापाका अनुसार महानगरकै लगानीमा मर्मत कार्य गरिएको हो । कञ्चनबारीमा बाँकी रहेको काम पनि एक हप्ताभित्र सम्पन्न हुने उनले बताए ।
विराटनगरमा ट्राफिक व्यवस्थापन सुधारका लागि महानगरपालिकाले पाँच स्थानमा ट्राफिक लाइट जडान गरेको थियो भने बरगाछीमा प्रदेश सरकारले जडान गरेको थियो । लामो समयपछि लाइट सञ्चालनमा आएपछि स्थानीयवासी तथा सवारी चालकहरू खुसी देखिएका छन् । उनीहरूले महानगरपालिका र ट्राफिक कार्यालयप्रति धन्यवाद व्यक्त गरेका छन् ।