विराटनगर । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका विभिन्न प्रदेशहरूमा तीव्र हावाहुरी, मेघगर्जन, चट्याङ्ग र असिनासहित वर्षा हुने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा हावाहुरीको असर देखिने अनुमान गरिएको छ। हावाहुरी बुधबार साँझ ५:४५ बजेपछि सुरु भई बिहीबार बिहान ७:४५ बजेसम्म सक्रिय रहने सम्भावना छ।
सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी आसपास, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची आसपास, मधेश प्रदेशका धनुषा र बारा आसपास तथा कोशी प्रदेशका मोरङलगायत आसपासका क्षेत्रमा हावाहुरीको जोखिम रहेको विभागले जनाएको छ।
मौसमविद्हरूका अनुसार पश्चिम र पूर्वतर्फ सक्रिय रहेका प्रिमनसुन प्रणालीहरू नेपालमै प्रवेश गरी आपसमा मिसिँदा स्थानीय स्तरमा बलियो मौसम प्रणाली बनेको हो। यसकै कारण केही ठाउँमा भारी वर्षा र हावाहुरीको सम्भावना बढेको बताइएको छ।
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार अहिलेको प्रणालीले काठमाडौं उपत्यकासहित देशका धेरै भागमा असर पार्नेछ। “आज रातिदेखि वर्षाको क्षेत्र र मात्रा दुवै बढ्ने देखिन्छ,” उनले भने।
यात्रामा सावधानी अपनाउन सुझाव
मौसम पूर्वानुमान अनुसार त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, पासाङल्हामु राजमार्ग र बीपी राजमार्गमा मंगलबारदेखि बिहीबारसम्म रातिको समयमा यात्रा गर्दा विशेष सावधानी अपनाउन वा सम्भव भएसम्म यात्रा टार्न सुझाव दिइएको छ।
मौसम विभागले मेघगर्जन, चट्याङ्ग र असिनासहितको वर्षाले जनजीवन, कृषि तथा यातायात क्षेत्रमा असर पार्न सक्ने भन्दै सबैलाई सतर्क रहन आग्रह गरेको छ।