विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट लागू औषध ‘ब्राउन सुगर’सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार वैशाख १५ गते झापाको अर्जुनधारा नगरपालिका–११ मा लागू औषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको संयुक्त टोलीले २९ ग्राम २९० मिलिग्राम ब्राउन सुगर र मे.१० प ९२९३ नम्बरको मोटरसाइकलसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सोही स्थानका मन्दिप राई, उमेश तामाङ, अर्जुनधारा–४ का सनम खड्का, अर्जुनधारा–५ का ध्रुवकुमार दनुवार र बिर्तामोड–३ का विश्व राजवंशी रहेका छन्।
यस्तै, सुनसरीको कोशी गाउँपालिका–१ बाट ८ ग्राम ५७० मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा उदयपुर बेलका–३ का प्रताप राई, त्रियुगा नगरपालिका–१२ का मोहम्मद इस्माइल र मोरङ कटहरी–४ का विवेककुमार मण्डल रहेका छन्।
त्यसैगरी, धरान–११ बाट १ ग्राम ४५० मिलिग्राम ब्राउन सुगरसहित स्थानीय सन्देश लिम्बु पक्राउ परेका छन्। पाँचथरको फिदिम नगरपालिका–१ बाट पनि ८६० मिलिग्राम ब्राउन सुगरसहित फिदिम–८ का अशोक गुरुङ र राजु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकामाथि लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।