विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा नर्समाथि भएको दुर्व्यवहारको घटनाले थप कानुनी रूप लिएको छ। नेपाल नर्सिङ संघ मोरङको संयोजकत्वमा अनुजा पाठक उर्फ “प्रिन्सेस” विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्र व्यवहार सम्बन्धी मुद्दा दायर गरिएको हो।

घटनामा संलग्न व्यक्तिले नर्सहरूलाई गालीगलौज गरेको आरोपमा उनीहरूलाई पीडित बनाउँदै मुद्दा दर्ता गरिएको जनाएको छ। साथै, दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरिएको छ। नर्स तथा सामाजिक अभियन्ता मधु खतिवडाले यस्ता गतिविधिले नर्सहरूको मनोबल घटाउने बताउँदै स्वास्थ्यकर्मीको सम्मान र सुरक्षामा गम्भीर ध्यान दिनुपर्ने धारणा राखिन्।



उक्त घटना एक बिरामीको मृत्यु भएपछि उनका आफन्त आक्रोशित भई अस्पतालमा तोडफोड र दुर्व्यवहारमा उत्रिएको बताइएको छ। यसैबीच, नोबेल मेडिकल कलेजले पनि एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्नमाथि कडा कारबाहीको माग गरेको छ।
स्वास्थ्यकर्मीमाथि बढ्दो दुर्व्यवहारप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गर्दै सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।