विराटनगर । विराटनगर–१४ का साहिद अलीसँग साविक जतुवा कठकुप्पा (हाल विराटनगर–१४ छाला फ्याक्ट्री) मा १० धुर जग्गाको पूर्जा छ । उनले २०६९ माघ १७ गते उक्त जग्गा आनन्द अर्यालमार्फत लिएका हुन् । अली जस्तै अर्की नोजाहा खातुनसँग पनि जग्गाको पूर्जा छ । त्यहाँ भएका धेरै स्थानीयसँग पूर्जा छ तर जग्गा भने छैन ।
आनन्द अर्याल नेपाली काँग्रेस मोरङका चल्तापूर्जा नेता अमृत अर्यालका दाइ हुन् । उनले पहुँचको दुरुपयोग गरेर यो जग्गा दुई पटक बिक्री गरिदिए । उनले पहुँचको दुरुपयोग गर्दा मालपोत र नापीलाई प्रभावित बनाएका थिए । त्यसताकाका कर्मचारीहरुको विषयमा छानविन अवश्य होला ।
अर्यालकै नाममा रहेको ४ बिघा ९ कठ्टा जग्गा २०६५ सालमा सतिशलाल कर्णलाई बिक्री गरिएको थियो । कर्ण जग्गा खरिद गरेपछि भारत पसे । उनी भारत पसेको केहिवर्षसम्म सम्पर्कमा थिएनन् । किन सम्पर्कमा थिएनन्, खुल्न सकेको छैन । यता कर्णलाई जग्गा बिक्री गरेका अर्यालले पुनः आफ्नो नाममा जग्गा फर्काएर अर्को कारोबार गरिदिए । अर्यालले पहिले एकमुष्ट कर्णलाई बिक्री गरेको जग्गा दोस्रो पटक प्लटिङ्ग गरेर टुक्राटुक्रा पारे अनि बेचे ।
त्यसबेला जग्गा खरिद गरेका व्यक्तिहरु भने अहिले पूर्जाधनी मात्रै भए जग्गा छैन । कारण, कर्ण भारतबाट फर्कदा आफ्नो नाममा रहेको जग्गामा घर बनिरहेका थिए । त्यसपछि उनले अदालतमा मुद्दा हाले । मुद्दा जिल्ला, उच्च हुँदै सर्वोच्चसम्म पुग्यो । फैसला हुँदा आनन्द अर्यालले हारे । अर्थात्, एउटै जग्गा उहि व्यक्तिले दुई पटक बिक्री गर्नु बदनियत ठहर भयो । कर्णको नाममा जग्गा कायम भयो । अर्यालले प्लटिङ्ग गरेर बिक्री गरेका नागरिकका नामबाट पनि जग्गाको समेत लिखत बदर भयो ।
धेरै घरहरु बनिसकेका थिए । कर्णले मुद्दा जितेर आफ्नो नाममा कायम भएको जग्गा मिरा कुमारी सिंह विन र अनिता कुमारी रौनियारलाई बिक्री गरिदिए । अर्थात अहिले उक्त जग्गा विन र रौनियारको नाममा लिखत कायम भएको देखिन्छ । यी दुईजना महिलाको नाममा रहेको जग्गाको कारोबार भने विराटनगरका प्रभु महतो र एलिस गुरुङले गरिरहेका छन् ।
विराटनगरमा हाईहुँई गर्ने ल्याकत भएका यी दुई व्यक्तिले उक्त जग्गा प्लटिङ गरेर बिक्री गर्न थालेपछि मात्रै स्थानीयले थाहा पाएकी पूर्जामा भएको जग्गा त अर्कैको नाममा गइसकेको छ । महतो र गुरुङले जग्गाको कारोबार गर्नुपर्ने विराटनगर–१४ छाला फ्याक्ट्री (कठकुप्पा) मा मुस्लिम समुदायका नागरिकले जग्गा खरिद गरेका थिए । त्यहि भएर उनीहरुलाई उठाउन पनि मुस्लिम समुदायका युवालाई नै प्रयोग गरियो । जस अन्तर्गत सीमा क्षेत्र रानीमा रजगज चलाइरहेका फैयाज रैयान, जावेद अली, खुल्बुद्दिन, अनवर हुसैन, अस्लम आलम समेतलाई अगाडी सारियो । उनीहरुले अहिले कठकुप्पामा जग्गाको पूर्जा भएकाहरुलाई त्यहि जग्गा पुनः खरिद गर्नुपर्ने दवाव दिदैं पास गराइरहेका छन् । अहिलेसम्म झण्डै दुई बिघा क्षेत्रफलको जग्गा पहिले खरिद गरेकाहरुले पुनः खरिद गरेर अर्को पूर्जा लिएका छन् ।
त्यस बाहेक केहि व्यक्तिहरु अहिले पनि आनन्द अर्यालले बिक्री गरेको जग्गा कसरी अर्को व्यक्तिको नाममा पुग्यो भनेर जानकार छैनन् । घर बनाउँदा नक्सा पास नहुने, जग्गा बिक्री गरेर पास गर्न जाँदा आफ्नो नहुने समस्या छ । बनाएको घर भत्काएर मान्छे भगाउने एउटा ठूलो समूह छ, जुन काँग्रेससँग नजिक छन् । पहिले पनि अर्यालले त्यहि जग्गामा सर्वसाधारण झुक्याएरका थिए, अहिले फेरी स्थानीय काँग्रेसका युवाहरुले सर्वसाधारण थर्काइरहेको गुनासो पीडितको छ ।
यता स्थानीयले बारम्बार टर्चर दिदैं आएको भनेर नाम लिएका कुल्बुद्दिनसँग बुझ्दा उनी पनि त्यो जग्गाका पीडित भएको सुनाए । उनले पनि आनन्द अर्यालबाट नामसारी भएर कुनै एक व्यक्तिको नाममा पूर्जा भएको चार कठ्ठा जग्गा खरिद गरेर पानी उद्योग लगाएका थिए । उद्योग लगाईसकेपछि जग्गा कर्णको नाममा गयो । कर्णले पनि बिक्री गरेपछि अहिले उक्त जग्गामा अर्को समूहले कारोबार थाल्यो । जसबाट आफूहरुले चार कठ्ठा जग्गा खरिद गरेको कुलबुद्दिनको दावी छ । तर, कुलबुद्दिनसहित यो समूहका बारेमा जानकारी हुने एक स्थानीयका अनुसार यिनीहरु अहिले दवाव दिएरै स्थानीयलाई कि त उठाउने कि त त्यहि जग्गा पुनः महंगोमा खरिद गराउने दौडमा देखिएका छन् ।
यस विषयमा उनले कानुनले नै नदिएको जग्गा कसैले पनि नपाउने बताउँदै भने, समयमै आनन्द अर्यालमाथि मुद्दा हाल्न पाएको भए थैली बराबरको रकम सबैले पाउने थिए । तर, सबैले आफैंलाई ठग्ने अर्यालसँग भर गरे ।