विराटनगर । जन्मदिनमा लगिएको केक खाँदा विराटनगरमा ३ जना बालिका बिरामी परेका छन् । विराटनगर–१० स्थित किरण क्लासिक बेकरी एण्ड आइसक्रिमबाट लगिएको केक खाएपछि बालिकाहरू बिरामी परेका हुन् ।
बिहीबार साँझ विराटनगर–९ भानु टोल निवासी साहिल ठाकुरले आफ्नी बहिनीको जन्मदिनका लागि उक्त बेकरीबाट करिब १९ सय रुपैयाँ बराबरको केक तथा अन्य सामग्री खरिद गरेका थिए । केक खाएपछि ७ वर्षीया श्रीशा ठाकुर, ११ वर्षीया आचल महतो र १४ वर्षीया पल्लव ठाकुर बिरामी भएका हुन् ।
तीनै बालिकाको हाल विराट नर्सिङ होममा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक डा. नवराज ठाकुरका अनुसार बालिकाहरूमा फुड पोइजन भएको देखिएको छ । सायद धेरैदिनको बासी केक भएको कारण र खानपानमा समस्या भएर उनीहरुको फुड पोइजनको लक्षण देखिएको चिकित्सको भनाई छ । चिकित्सकले उनीहरूको अवस्था अहिले सामान्य रहेको भए पनि २४ घण्टासम्म निगरानीमा राख्नुपर्ने बताएका छन् ।



बिरामी बालिकाका दाजु साहिल ठाकुरले आफूले पसलमा ताजा केक मागेको भए पनि पुरानो केक दिइएको आरोप लगाए । उनले भने, “मैले पसलमा फ्रेस र ताजा खालको केक दिनु है भनेको थिएँ । विश्वास गरेर घर लग्यौँ । घरमा बहिनीको जन्मदिन मनाएर नानीहरूले केक खाएका थिए । केहीबेरमै नानीहरूले केक गनाएको छ भन्न थाले । त्यसपछि हामीले पनि सुँघेर हेर्दा केक पुरै गन्हाइरहेको थियो । एक्कासि आचल महतोले बान्ता गर्न थालिन् । त्यसपछि राति नै विराट नर्सिङ होम लग्यौँ ।” यता बेकरीका म्यानेजरले भने कर्मचारीको गल्तीका कारण पुरानो केक गएको स्वीकार गरेका छन् । उनले भने, “नयाँ दिनुपर्नेमा कर्मचारीबाट भुलवश पुरानो केक गएछ । यसमा हाम्रो गल्ती भएको स्वीकार गर्छौं ।” घटनापछि परिवारले उक्त केक खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा ल्याब परीक्षणका लागि पठाएको जनाएको छ । पीडित परिवारले मानव स्वास्थ्यसँग खेलवाड गर्ने व्यवसायमाथि कडा कारबाही गर्न माग गरेका छन् ।