विराटनगर । बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा यूरोलोजी, एन्ड्रोलोजी एण्ड रेनल ट्रान्सप्लान्ट विभागको छुट्टै वार्ड औपचारिक रूपमा सञ्चालनमा आएको छ। बिहीबार अस्पतालको पाँचौं तल्लामा एक विशेष कार्यक्रमबीच सो वार्डको शुभारम्भ गरिएको हो।
मूत्र प्रणाली, पुरुष प्रजनन स्वास्थ्य तथा मिर्गौला सम्बन्धी बिरामीहरूलाई सहज, छिटो र एकीकृत सेवा दिने उद्देश्यले निर्माण गरिएको यस वार्डमा ७० वटा बेडको व्यवस्था गरिएको छ। आधुनिक शल्यक्रिया कक्ष, एडभान्स डायग्नोस्टिक उपकरण र अनुभवी विशेषज्ञ चिकित्सकहरूको टोलीसहित सञ्चालित यो वार्डले पूर्वी नेपालका बिरामीहरूलाई काठमाडौं नगई स्थानीय स्तरमै विश्वस्तरीय उपचार सेवा उपलब्ध गराउने अस्पतालको विश्वास रहेको छ।
संस्थाका संस्थापक अध्यक्ष प्रो.डा. ज्ञानेन्द्रमान सिंह कार्की, वरिष्ठ युरो सर्जन प्रो.डा. सि.एस. अग्रवाल, प्रो.डा. दिपक कुमार ठाकुर र डा. इमरान अन्सारीले संयुक्त रूपमा वार्डको उद्घाटन गर्नुभयो। कार्यक्रममा अस्पतालका विभिन्न विभागका प्रमुख, नर्स तथा कर्मचारीहरू उपस्थिति रहेको थियो ।
यसअघि यूरोलोजी र सर्जरीका बिरामीहरूलाई एउटै वार्डमा राखिने गरिन्थ्यो, जसका कारण बिरामी व्यवस्थापन र विशेषज्ञ सेवामा केही असहजता हुने गरेको थियो। अब यूरोलोजी, एन्ड्रोलोजी र रेनल ट्रान्सप्लान्टका तीनवटै सेवा एकै छाना मुनि उपलब्ध हुने भएकाले विभागहरूबीच समन्वय थप सहज हुनेछ र बिरामीले झन्झटरहित एकीकृत उपचार पाउने विश्वास लिइएको वरिष्ठ युरो सर्जन प्रो.डा. दिपक ठाकुरले बताउनुभयो।
अस्पतालमा हाल दूरबिन र लेजर प्रविधिमार्फत शल्यक्रिया हुँदै आएको छ। आगामी दिनमा मिर्गौला प्रत्यारोपण र रोबोटिक सर्जरी सेवा पनि सुरु गर्ने लक्ष्य रहेको प्रो.डा. ठाकुरले जानकारी दिनुभयो। यी सेवाहरू थपिएसँगै पूर्वी नेपालमा स्वास्थ्य सेवाको पहुँच अझ विस्तार हुने र बिरामीहरूले उपचारका लागि ठूला सहर धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।