विराटनगर । अन्तर्राष्ट्रिय नर्सिङ दिवस २०२६ को अवसरमा नोबेल शिक्षण अस्पताल मा विविध कार्यक्रमहरूको आयोजना गरी विशेष उत्साह, गरिमा तथा उल्लासका साथ दिवस मनाइएको छ ।
अस्पताल परिसरमा आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत नर्सहरू, मेडिकल विद्यार्थी, शिक्षकहरू तथा विभिन्न विभागका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले नर्सिङ पेशाले स्वास्थ्य सेवाको क्षेत्रमा पुर्याउँदै आएको अतुलनीय योगदान, समर्पण, करुणा तथा मानवसेवाप्रतिको उच्च जिम्मेवारीको प्रशंसा गरेका थिए ।




कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले नर्सहरू स्वास्थ्य सेवाको मेरुदण्ड भएको उल्लेख गर्दै बिरामीको उपचार, हेरचाह तथा सेवामा उनीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका थिए । साथै, “हाम्रा नर्सहरू, हाम्रो भविष्य सशक्त नर्सहरूले जीवन बचाउँछन् ”भन्ने मूल नारालाई आत्मसात गर्दै नर्सहरूको क्षमता अभिवृद्धि, सम्मान र सशक्तीकरणमा सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिइएको थियो ।



दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत नर्सहरूको अथक मेहनत, सेवाभाव र स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानप्रति सम्मान व्यक्त गरिएको अस्पताल प्रशासनले जनाएको छ ।