विराटनगर । कोशी अस्पताल विराटनगर प्रशासनले बुधबार जिल्ला प्रशासन कार्यालय मोरङद्वारा गरिएको अनुगमनपछि प्रकाशित समाचारलाई लिएर ध्यानाकर्षण भएको जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.रामनारायण चौधरीले एक विज्ञप्ती प्रकाशित गर्दै अनुगमनका क्रममा ठूलो संख्यामा कर्मचारी अनुपस्थित रहेको भन्ने कुरा गलत तथ्यका आधारमा प्रकाशित भएको बताएका हुन् ।
मेसु चौधरीका अनुसार ओ.पि.डी. अनुगमनका क्रममा ई–हाजिरीमा उपस्थित देखिएका सबै चिकित्सकहरु आफ्नो ड्यूटीमा रहेका थिए । साथै बाँकी चिकित्सकको ड्यूटी युनिट अनुसार वहिरंग, अन्तरंग, आई.सि.यू. शल्यक्रिया आदि यूनिटमा रहेको दावी छ । ‘अस्पतालको सेवा प्रवाह तीन सिफ्टमा सञ्चालन हुने भएकाले कार्यरत ७१६ जना कर्मचारीहरू मध्ये अधिकांश कर्मचारीहरू सिफ्ट ड्युटीमा रहने गर्दछन् । यस कारण बिहान ११ बजे गरिएको अनुगमनका क्रममा ई–हाजिरी प्रणालीमा कर्मचारी अनुपस्थित देखिनु स्वभाविक विषय हो’ विज्ञप्तीमा भनिएको छ ।
अस्पतालको ई–हाजिरी रेकर्ड अनुसार तीनवटै सिफ्टको समग्र उपस्थिति हेर्दा न्यून संख्यामा मात्र कर्मचारी अनुपस्थित रहेको दावी गरिएको छ । केही कर्मचारी आकस्मिक बिदामा रही ई–हाजिरी प्रणालीमा विदा अद्यावधिक गर्न बाँकी रहेको अवस्था समेत रहेको जनाइएको छ । अस्पताल प्रशासनले तथ्य तथा वास्तविक अवस्थालाई पर्याप्त अध्ययन तथा अनुसन्धान नगरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको मनोबल गिराउने ढंगले समाचार प्रकाशित तथा प्रसारित गरिएको आरोप लगाएका छ ।
