विराटनगर जेष्ठ ३.
नेपाल क्रिकेटका समर्पित र इमान्दार अम्पायर भास्कर अर्यालको असामयिक निधनले नेपाली क्रिकेट वृत्त शोकमा डुबेको छ। लामो समयदेखि बिरामी रहेका अर्यालको निधनपछि विशेषगरी कोशी प्रदेश क्रिकेटमा ठूलो क्षति पुगेको बताइएको छ।
विराटनगर निवासी अर्याल हाल जमुनगाछीमा बसोबास गर्दै आएका थिए। उनले राष्ट्रिय तथा कोशी प्रदेशस्तरमा अम्पायरका रूपमा महत्वपूर्ण योगदान दिएका थिए। मैदानभित्रको निष्पक्ष निर्णय, सरल स्वभाव र खेलप्रतिको समर्पणले उनी क्रिकेट समुदायका लागि प्रेरणाको स्रोत बनेका थिए।
क्रिकेट कोच महेश रिजालका अनुसार अर्याल विराटनगरमै बसेर कोशी प्रदेशमा कहलिएका अम्पायरमध्ये एक थिए। उनको योगदानले नेपाली क्रिकेटको विकास, अनुशासन र खेलभावनामा ठूलो टेवा पुर्याएको स्मरण गरिएको छ।
उनको निधनसँगै नेपाली क्रिकेटले एक अनुभवी र आदर्श व्यक्तित्व गुमाएको छ।