विराटनगर महानगरको छात्रवृत्ति आवेदन खुला, जुनसुुकै ठाउँका विद्यार्थीले अवसर लिन पाउने

<span class='c1'>विराटनगर महानगरको छात्रवृत्ति आवेदन खुला, जुनसुुकै</span> <span class='c2'>ठाउँका विद्यार्थीले अवसर लिन पाउने</span>

सोनु साह
विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छनोट परीक्षाको अनलाइन आवेदन खुलाएको छ । महानगरभित्र सञ्चालित संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीले जेठ १ गतेदेखि १० गते राति ११ः५९ बजेसम्म महानगरपालिकाको वेबसाइट तथा छात्रवृत्ति पोर्टलमार्फत निःशुल्क आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

महानगरपालिकाका अनुसार छात्रवृत्ति छनोट परीक्षा असार १७ गते आइतबार हुनेछ । एसईई परीक्षामा न्यूनतम १.६ जीपीए प्राप्त गरेका विद्यार्थी आवेदनका लागि योग्य हुनेछन् । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित बहुविषयगत प्रश्नमा सञ्चालन गरिनेछ । नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयबाट ९० अंक तथा सामान्य ज्ञानबाट १० अंक गरी कुल १०० पूर्णाङ्कको परीक्षा लिइनेछ । उत्तीर्ण हुन न्यूनतम ४० अंक ल्याउनुपर्ने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ ।

विद्यार्थीहरूले आवेदन फाराम भर्दा आफूले अध्ययन गर्न चाहेको विषय पढाइ हुने बढीमा पाँच वटा विद्यालयको प्राथमिकता निर्धारण गर्नुपर्नेछ । आवेदन पेश गर्नुअघि सम्पूर्ण विवरण पूर्वावलोकन गरी यकिन गर्नुपर्ने र पेश गरेपछि विवरण सच्याउन नमिल्ने व्यवस्था गरिएको छ । फोटो तथा आवश्यक कागजात जेपिजी वा पिएनजी ढाँचामा अपलोड गर्नुपर्ने जनाइएको छ ।

महानगरपालिकाले संस्थागत विद्यालयहरूले उपलब्ध गराउने कम्तीमा १० प्रतिशत छात्रवृत्तिलाई आधार मानी आरक्षण व्यवस्था समेत लागू गरेको छ । जसअनुसार जेहेन्दारतर्फ ३५ प्रतिशत, विपन्नतर्फ ३५ प्रतिशत, जनजातितर्फ १० प्रतिशत तथा दलित, अपाङ्गता, मुस्लिम र अन्य समूहका लागि समान ५ र ५ प्रतिशत कोटा छुट्याइएको छ । आरक्षित समूहको कम्तीमा ५० प्रतिशत कोटा छात्राका लागि सुरक्षित गरिएको छ भने ५० प्रतिशत कोटा सामुदायिक विद्यालयबाट आएका विद्यार्थीका लागि छुट्याइएको महानगरपालिकाले जनाएको छ ।

छात्रवृत्ति आवेदनका लागि सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेको प्रमाण, अपाङ्गता परिचयपत्र, जिल्ला प्रशासन कार्यालयको सिफारिस, विपन्न परिचयपत्र वा वडा कार्यालयको सिफारिस लगायतका कागजात आवश्यक पर्नेछन् । साथै सहिदका छोराछोरी, जनआन्दोलन तथा मधेस आन्दोलनका घाइतेका सन्तती र बेपत्ता परिवारका सन्ततीका लागि सम्बन्धित निकायबाट प्रमाणित कागजात अनिवार्य गरिएको छ ।

परीक्षा केन्द्र, नतिजा तथा अन्य जानकारी परीक्षा हुनुभन्दा तीन दिनअघि महानगरपालिकाको वेबसाइटमार्फत सार्वजनिक गरिने जनाइएको छ । यसैबीच, विराटनगर महानगरपालिका शिक्षा शाखाका प्रमुख राम प्रसाद ढुंगेलले हाल अनलाइन प्रणालीमा समस्या देखिएकाले आवेदन प्रक्रिया अस्थायी रूपमा रोकिएको जानकारी दिएका छन् । उनका अनुसार शिक्षा मन्त्रालयसँग समन्वय भइरहेकाले भोलिदेखि नियमित रूपमा अनलाइन फाराम भर्न सकिने अपेक्षा गरिएको छ ।

ढुंगेलका अनुसार शिक्षा मन्त्रालय र महानगरपालिकाहरूको एउटै प्रणालीमार्फत छात्रवृत्ति परीक्षा सञ्चालन तथा आवेदन प्रक्रिया सञ्चालन गरिएकाले प्राविधिक समस्या देखिएको हो । उनले नेपालभरका जुनसुकै विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूले कक्षा ११ को छात्रवृत्ति परीक्षाका लागि आवेदन दिन पाउने जानकारी दिए ।

उनले छात्रवृत्तिमा उत्तीर्ण भएका विद्यार्थीले आफूले रोजेको विद्यालयमा अध्ययन गर्न पाउने व्यवस्था रहेको पनि बताए । साथै हाल विभिन्न विद्यालयहरूले प्रवेश परीक्षा लिन सुरु गरिसकेकाले पहिले नै भर्ना भइसकेपछि अर्को विद्यालयमा जान चाहेमा शुल्क फिर्ता गराउने विषयमा महानगरपालिकाले कुनै पहल गर्न नसक्ने स्पष्ट पारे ।

महानगरपालिकाले प्रत्येक वर्ष १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको उल्लेख गर्दै ढुंगेलले विद्यार्थीहरूलाई छात्रवृत्ति परीक्षामा सहभागी हुन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्