विराटनगर । कोशी प्रदेशमा सरकार गठबन्धन नेकपा एमाले र नेपाली काँग्रेसबीच भागबन्डा मिलेपछि प्रदेश खेलकुद विकास बोर्डमा सदस्य सचिव र उपाध्यक्ष नियुक्त गर्ने तयारी गरिएको छ । दुई पार्टीबीच पहिल्यै भागबन्डा गरेर सदस्य सचिव र उपाध्यक्ष नियुक्त गर्ने विषय भने दुवै दलबीच विवादमा रुमलिएको छ ।
नौ महिनादेखि नेतृत्वविहीन छ, कोशी प्रदेश खेलकुद विकास बोर्ड । एमालेमा सदस्य सचिव नियुक्त गर्ने पात्रका विषयलाई लिएर तानातान छ । यसैगरी काँग्रेसमा उपाध्यक्षमा तानातान चलिरहेको छ । यद्यपी यी दुवै पार्टीको खेलकुद संघ र संगठनको परामर्शमा प्रदेश पार्टीले गरेको सिफारिसलाई सरकारले मान्यता दिएर नियुक्त गर्नेछ । तर, कोशी प्रदेश सरकारले भने सुनसरी इनरुवाका विप्लव घोषलाई सदस्यसचिव बनाउनकै लागि खेलकुदसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेर काँग्रेस र एमालेको दावी गर्नेहरुलाई समेत अटाउन सक्ने सदस्य नियुक्त गर्न बाटो खोलेको छ । नयाँ व्यवस्थाअनुसार दुई उपाध्यक्षसहित २६ सदस्यीय बोर्ड गठन गर्ने तयारी गरिएको छ । जसअनुसार एक उपाध्यक्ष कांग्रेस र अर्को एमालेले पाउने गरी भागबण्डा मिलेको छ । सदस्यतर्फ दुवै दलले ११\११ जना चयन गर्ने तथा बाँकी सदस्य मनोनित हुनेछन् ।
सत्ताको स्वादमा मरिहत्ते गरिरहेका यी दुई ठूला दल संघमा बेहोर्नु परेको पराजयबाट सिक्नुभन्दा प्रदेशमा बाँडिचुडी गर्नमै व्यस्त छन् । त्यसमा पनि निर्विवाद भने छैनन् । राजनीतिक सहमतिका नाममा खेलकुद संरचनालाई भागबण्डामुखी बनाउने अभ्यासले कोशी प्रदेशको खेल क्षेत्र झन् खस्किने स्थिति देखिएको छ । खास खेलकुद क्षेत्रमा सक्रियहरुले भने प्रदेशले गरिरहेको यी सबै कार्यप्रति दिक्क महसुश हुन थालेको बताउँदै आएका छन् । खेलकुद क्षेत्रको व्यावसायिक नेतृत्वभन्दा दलगत समीकरणबाट ‘अरेभरे उहिल्यै खेलाडी थियो रे’ भन्ने व्यक्तिहरुलाई प्रदेश खेलकुद बोर्डमा नियुक्त गर्ने तम्तयार भइरहेको छ ।
प्रदेश सरकारले सदस्य सचिवमा नियुक्त खोजिएका घोष नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव हुन् । उनी पर्शुराम बस्नेतका नजिक छन् । यता उपाध्यक्षमा समेत एमालेमा विराटनगरी सन्तोषी श्रेष्ठदेखि प्रदेशका १४ जिल्लाबाट दावी प्रस्तुत गर्नेहरुको लाइन रहेको छ । एमालेका एक नेताले जसजसलाई नियुक्त गरेपनि ती खेलक्षेत्रका नभई गुटक्षेत्रका हुने भन्दै आक्रोश पोखेका छन् ।
काँग्रेसमा उपाध्यक्ष नियुक्त हुन सुनिल श्रेष्ठ, अभिषेक श्रेष्ठ, सोबित प्रसाँईको नाम चर्चामा रहेको छ । त्यस बाहेक बसन्त अर्याल, किशोर राई र रणजंग थापा समेत लाइनमा छन् । काँग्रेसबाट पूर्व राष्ट्रिय मेडेलिष्ट ऐथलेटिक्स खेलाडी तथा ऐथलेटिक्स संघ मोरङ जिल्ला कार्य समितिका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, लोकतान्त्रिक कोशी प्रदेश खेलकुद संघका अध्यक्ष अभिषेक श्रेष्ठ, लोकतान्त्रिक खेलकुद संघका पूर्व केन्द्रीय सदस्य सोबित प्रसाईले समेत दावी दह्रो लिएका हुन् ।
यसअघिका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) को कार्यकाल गत भदौ २५ गते सकिएपछि बोर्ड नेतृत्वविहीन छ । नेतृत्व नहुँदा प्रदेशभरका खेलकुद गतिविधि छैनन् । भएपनि सधैं पार्टीकरण भएको आरोप लाग्दै आएको छ । पहिलो सदस्यसचिवका रूपमा एमालेनिकट बस्नेत नियुक्त भएका थिए । त्यसपछि तत्कालीन नेकपा एकीकृत समाजवादी का हंशराज वाग्ले सदस्यसचिव बनेका थिए । अदालतको आदेशपछि बस्नेत पुनः जिम्मेवारीमा फर्किएका थिए । नियुक्त भएका यी दुवैको कार्यशैलीसँग खेलक्षेत्रका खास जिम्मेवार भने कहिल्यै खुशी भएका थिएनन् ।