विराटनगर । दलित समाज विकास केन्द्र को आयोजनामा विराटनगरका दलित समुदायका युवावर्गलाई लक्षित गरी क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी तीन दिने तालिम सुरु भएको छ । विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा आइतबारदेखि तालिम सञ्चालन गरिएको हो ।

केन्द्रका अध्यक्ष उत्तम पासवानका अनुसार विराटनगर महानगरपालिकाका १९ वटै वडाभित्रका दलित समुदायका युवालाई लक्षित गरी तालिम आयोजना गरिएको हो । तालिममा नेतृत्व विकास, क्षमता अभिवृद्धि, प्रस्तावना लेखन लगायतका विषयमा प्रशिक्षण दिइने उनले जानकारी दिए ।
तालिममा प्रशिक्षकका रुपमा उमेश विश्वकर्मा र दिपिका शर्मा ले सहजीकरण गरिरहेका छन् । कार्यक्रममा ४५ जना युवायुवतीको सहभागिता रहेको केन्द्रका अमृत पासवानले जानकारी दिए ।

अध्यक्ष पासवानले दलित समुदायका युवालाई नेतृत्व तहसम्म पुग्न यस्ता तालिम प्रभावकारी हुने बताए । “समुदायभित्रका युवामा क्षमता र सम्भावना हुँदाहुँदै पनि अवसरको कमी देखिन्छ,” उनले भने, “यस्ता तालिमले उनीहरूलाई नेतृत्व विकाससँगै आफ्नो हक अधिकारका विषयमा पनि सचेत बनाउने विश्वास लिएका छौं ।”प्रशिक्षक उमेश विश्वकर्माले युवाहरूलाई आत्मविश्वासका साथ समाजमा अगाडि बढ्न नेतृत्व तथा सीप विकास आवश्यक रहेको बताए ।

“आजको युवापुस्ताले केवल रोजगारी मात्रै होइन, सामाजिक रुपान्तरणमा पनि भूमिका खेल्नुपर्छ,” उनले भने, “तालिमले उनीहरूलाई व्यवहारिक ज्ञान र नेतृत्व क्षमता विकास गर्न सहयोग पुग्नेछ ।”