विराटनगर । विराटनगर–५ मा अवस्थित किड्स भिलेज स्कुलले अभिभावक र विद्यालयबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ ‘अभिभावक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित एक विशेष समारोहका बीच विद्यालयले प्ले–ग्रुपदेखि कक्षा ६ सम्मका विद्यार्थीका अभिभावकहरूलाई अभिमुखीकरण गराएको हो।

कार्यक्रममा बालबालिकाको सिकाइ प्रक्रिया, उनीहरूको मनोविज्ञान र घर तथा विद्यालयमा अभिभावक र शिक्षकको भूमिकाका विषयमा विस्तृत छलफल गरिएको थियो । विद्यालयका प्रिन्सिपल विजय दाहालले बालबालिकाको सकारात्मक विकासका लागि अभिभावक र विद्यालयको सहकार्य अनिवार्य रहेको बताए । कार्यक्रमका बारेमा जानकारी दिँदै दाहालले भने, “यो हाम्रो वार्षिक नियमित कार्यक्रम हो । अभिभावक र विद्यालयको साझा प्रयासले मात्र बालबालिकामा सकारात्मक सन्देश प्रवाह गर्न सकिन्छ । बालबालिकाको समग्र विकासमा शिक्षक, विद्यालय प्रशासन र अभिभावकको जिम्मेवारी कस्तो हुनुपर्छ भन्ने विषयमा हामीले गहन छलफल गरेका छौँ ।”

प्रिन्सिपल दाहालले यो कार्यक्रमलाई अभिभावकहरूको गुनासो सुन्ने र विद्यालयका कमीकमजोरी सुधार्ने साझा मञ्च (प्लेटफर्म) को रूपमा व्याख्या गरे । उनले भने, “अभिभावकहरूका विद्यालयप्रतिका भावना र गुनासाहरू प्रत्यक्ष रूपमा बुझ्ने अवसर हामीले पाएका छौँ । हामीले कतै नबुझेका वा गलत गरिरहेका कुराहरू छन् भने अभिभावकबाट सुझाव लिएर अघि बढ्न यसले ठूलो मद्दत पुग्नेछ ।” कार्यक्रमलाई विज्ञ सहजकर्ता यम घिमिरेले सहजीकरण गरेका थियो । उनले बदलिँदो परिवेशमा बालबालिकालाई कसरी बुझ्ने र उनीहरूको रुचि अनुसारको वातावरण कसरी तयार गर्ने भन्ने विषयमा टिप्सहरू दिएका थिए। स्कुलका निर्देशक पंकज जैनले सञ्चालन गरेको उक्त कार्यक्रममा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
