विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित साल्ट ट्रेडिङ अगाडि मलाय रोडमा बुधबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका अनुसार आज साँझ करिब ५ः५५ बजेको समयमा विराटनगरबाट रानीतर्फ जाँदै गरेको प्रदेश १–०४–००३ प ५१०३ नम्बरको मोटरसाइकल र सडक क्रस गर्दै गरेको को २७ प १५८४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा को २७ प १५८४ नम्बरको मोटरसाइकल चालक विराटनगर–१४ निवासी २९ वर्षीय शंकरकुमार शर्माको दाहिने हातमा सामान्य चोट लागेको छ। सोही मोटरसाइकलमा पछाडि सवार उनकी २२ वर्षीया श्रीमती पुष्पा शर्माको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। दुवैको कोशी अस्पताल मा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको छ।
त्यसैगरी प्रदेश १–०४–००३ प ५१०३ नम्बरको मोटरसाइकल चालक विराटनगर–६ निवासी २२ वर्षीय राजेश सहनीको घाँटीको बायाँ भाग, बायाँ हात तथा खुट्टामा सामान्य चोट लागेको छ। मोटरसाइकलमा पछाडि सवार इलाम नगरपालिका–५ निवासी १९ वर्षीय विवश घिमिरेको चिउँडो र दाहिने खुट्टामा चोट लागेको छ। उनीहरूको न्यूरो अस्पताल मा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।