विराटनगरको फोहोर व्यवस्थापन : पाँचवर्ष अगाडी थ्री–जोन मोडल–अब ‘वेस्ट टु इनर्जी’

<span class='c1'>विराटनगरको फोहोर व्यवस्थापन : पाँचवर्ष अगाडी</span> <span class='c2'>थ्री–जोन मोडल–अब ‘वेस्ट टु इनर्जी’</span>

विराटनगर । विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापनमा देखिदै आएको भद्रगोलमा केहि सुधार भएको छ । पाँचवर्ष अगाडी विराटनगर महानगरपालिकालाई तीन जोनमा विभाजन गरेर फोहोर संकलन, व्यवस्थापन र बिसर्जन थालिएको थियो । जसको कार्यन्वयन सफल देखिएको छ । यसका लागि महानगरले सिङ्गो सहरलाई तीन क्षेत्रमा विभाजन गरी निजी क्षेत्रसँगको सहकार्यमा काम अघि बढाएको हो । फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन महानगरले ‘थ्री–जोन मोडेल’ कार्यान्वयन गरिरहेको विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले बताउनुभयो ।

महानगरले २०७८ कात्तिक ५ गतेदेखि लागू हुने गरी ५ वर्षका लागि तीन वटा निजी संस्थासँग सम्झौता गरेको थियो । विराटनगरको उत्तरी क्षेत्र (वडा १, २, ४, ५ र १९) मा फोहोर संकलन र व्यवस्थापनको जिम्मा ‘नेपाल फूलबारी वेस्ट थ्री आर पोलुसन कन्ट्रोल सर्भिस प्रालि’ ले पाएको थियो । यस सेवाबापत महानगरले उक्त संस्थालाई वार्षिक १० लाख ६६ हजार ६५६ रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै, सहरको मुटु मानिने मध्य क्षेत्र (वडा ६ देखि ११ सम्म) को जिम्मा ‘स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल’ नामक संस्थाले लिएको छ । यो संस्थाले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै महानगरसँग मासिक मात्र एक रुपैयाँ लिएर सेवा दिइरहेको छ ।

दक्षिणी क्षेत्र (वडा १२ देखि १८ सम्म) फोहरको व्यवस्थापन सगरमाथा मल्टिपल सर्भिस प्रा.लि.ले गर्दै आएको छ । भौगोलिक दूरी र फोहोरको चापलाई हेर्दै महानगरले यो संस्थालाई वार्षिक ३५ लाख ९९ हजार ९८८ रुपैयाँ भुक्तानी गर्दछ । तीन क्षेत्रमा विभाजन गरेर तीन संस्थालाई दिएको जिम्मेवारी अनुसार फोहोर मात्रै संकलन गर्ने नभएर व्यवस्थापन तथा बिसर्जनको काम समेत गर्दै आएका छन् । त्यसबाहेक फोहोर उत्पादन गर्ने घरलाई सदस्यता प्रदान गरेर एकिकृत व्यवस्थापनमा नागरिकलाई समेत जोड्दैछन् ।

महानगरको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख पुनमकुमार दाहालका अनुसार अहिले विराटनगरमा २२ हजार घरधुरीले फोहोर सदस्यता लिएका छन् । जसले कम्पनीहरुलाई मासिक रुपमा बुझाउनु पर्ने शुल्क बुझाउने गर्दछन् । विराटनगरमा दैनिक करिब एक मेट्रिक टन फोहोर उत्पादन हुन्छ । यो सबै फोहोर विराटनगर–१६ दरैयास्थित साढे १० बिघा क्षेत्रफलमा रहेको डम्पिङ साइटमा विसर्जन गर्न थालिएको छ ।

यो डम्पिङ साइटमा कुनै स्थायी संरचना छैन । वर्षायाममा दुर्गन्ध फैलने र वातावरणीय जोखिम बढ्ने समस्या छ । त्यसैले महानगरले अहिले खाल्डो खनेर फोहोर पुर्ने विधि अपनाइरहेको छ । आगामी दिनमा निजी साझेदार संस्थालाई २० वर्षको लिजमा दिएर महानगरले फोहोर व्यवस्थापनमा दिगो कार्ययोजनासहित अगाडि बढ्ने लक्ष्य राखेको दावी छ ।
विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले अहिलेसम्म भइरहेको कार्यले सकारात्मक नतिजा लिइरहेको भएपनि सुधार गर्नुपर्ने कुरा अझै धेरै बाँकी छन् । त्यसलाई समेत ध्यानमा राखेर आगामी दिनका कार्ययोजना बनिरहेका छन् । व्यवस्थापनमा धेरै मेहनत गरिरहेको महानगरपालिकाले जथाभावी फोहोर फ्याँक्नेलाई कारवाही समेत गर्दै आएको छ । चालु आर्थिक वर्षसम्म २४ जनालाई जरिवाना गरिसकेको छ । हालसम्म ३१ ह्जार २०० रुपैँया जरिवाना असुल गरेको छ ।

अब वेस्ट टु इनर्जी
विराटनगर महानगरपालिकाले वार्षिक फोहोर व्यवस्थापनका लागि करिब ८० लाख रुपैयाँ बजेट विनियोजन गर्दछ । महानगर अब केवल फोहोर संकलनमा मात्र होइन, यसको आधुनिक प्रशोधन र ‘वेस्ट टु इनर्जी’को अवधारणामा अघि बढ्न खोज्दैछ । फोहोर व्यवस्थापन महानगरको मात्र जिम्मेवारी होइन, यो प्रत्येक नागरिकको कर्तव्य पनि हो । निजी क्षेत्रको सहकार्य, महानगरको सक्रियता र नागरिकको सचेतनाले नै विराटनगरलाई साँच्चैको ‘सुन्दर र सफा सहर’ बनाउन सम्भव छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्