विराटनगर । विराटनगर १० मा रहेको अरनीको कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । कलेजले शनिबार र आइतबार गरी दुई चरणमा विद्यार्थीहरूलाई शैक्षिक वातावरण र कलेजको पद्धतिबारे विराटनगरको कञ्चनजंघा पार्टी प्यालेसमा सुरु भएको हो ।

कलेजका अनुसार शनिबार ‘बायो ग्रुप’ का विद्यार्थीहरूका लागि कार्यक्रम गरिएको थियो भने आइतबार कम्प्युटर विज्ञानका विद्यार्थीहरूलाई सहभागी गराईने छ । कार्यक्रममा विद्यार्थीहरूलाई उत्प्रेरणा जगाउन र शैक्षिक लक्ष्य निर्धारणका लागि प्रसिद्ध ‘मोटिभेटर’ डा. तारा गिरीले सहजीकरण गरेका थिए।
उनले विद्यार्थीहरूलाई बदलिँदो परिवेशमा कसरी सफल हुने र अध्ययनलाई रुचिपूर्ण कसरी बनाउने भन्नेबारे प्रशिक्षण दिएका थिए ।

सोही अवसरमा कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पुरस्कार समेत वितरण गरेको छ। ३.९१ जीपीए ल्याउने विद्यार्थी जेभी प्रवीणलाई ‘राजबहादुर तथा कमला कुँवर छात्रवृत्ति’ प्रदान गरियो। त्यस्तै, कलेजको प्रवेश परीक्षामा उत्कृष्ट हुने सुयोग पोखरेल, प्रिन्स मण्डल, द्वितीय हुने कुलानन्द कुमार यादव र तृतीय हुने रोहित कुमार साहलाई पूर्ण छात्रवृत्तिसहित सम्मान गरिएको छ।

विद्यार्थीहरूलाई कदरपत्र तथा पुरस्कार वितरण गर्दै कलेजका प्रिन्सिपल राजेश कार्कीले विद्यार्थीहरूलाई भयरहित र अनुशासित वातावरणमा अध्ययन गर्न आग्रह गरे। ‘लगनशीलता नै सफलताको कडी हो,’ उनले भने, ‘विद्यार्थीको क्षमता प्रस्फुटनका लागि कलेजले सधैं उपयुक्त मञ्च र वातावरण प्रदान गर्नेछ।’
कार्यक्रममा कलेजका निर्देशक भरतराज दाहालले स्वागत मन्तव्य राख्दै अरनीकोको शैक्षिक विरासतलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। कलेजका संयोजक विकास खनालले कलेजका नियम, अनुशासन र विद्यार्थीहरूले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रस्ट पारेका थिए।
