विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि कलेजको नियम र अनुशासनसँगै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

विराटनगरको सिटी पार्टी प्यालेसमा आईतबार विहान आयोजित विशेष समारोहका बीच कलेजले विज्ञान संकायमा भर्ना भएका १ हजार १ सय ३५ जना विद्यार्थीहरूलाई स्वागत गर्दै शैक्षिक मार्गनिर्देशन गराएको छ ।

कार्यक्रममा कलेजले लिएको प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । प्रवेश परीक्षामा ९९ प्रतिशत अङ्क प्राप्त गरी प्रथम हुने शुभम झा, ९८ प्रतिशतसहित द्वितीय हुने स्नेहा वस्ती र ९४ प्रतिशत अङ्क ल््याएर तृतीय हुने शशिन खतिवडालाई कलेजले सम्मान गरेको छ । साथै, प्रवेश परीक्षाका टप टेन भित्र पर्न सफल अन्य विद्यार्थी र माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याएर शिक्षादीप रोज्ने विद्यार्थीहरूलाई पनि पुरस्कृत गएिको थियो ।

अभिमुखीकरणलाई सम्बोधन गर्दै शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले कक्षा ११ र १२ को दुई वर्षको अवधिलाई विद्यार्थीको जीवनकै ‘निर्णायक मोड’ (टर्निङ पोइन्ट) का रूपमा व्याख्या गरे । उनले यो समयलाई सही सदुपयोग गर्न सके मात्रै भविष्य उज्ज्वल हुने र अभिभावकको सपना पूरा हुने बताए । साथै उनले भर्ना भएका विद्यार्थीहरुलाई २ बर्ष सम्म अनुशासनमा रहेर अध्ययन गर्न पनि निर्देशन दिए ।

कार्यक्रममा कोशी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री एवं कलेजका अध्यक्ष भीम पराजुलीले विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै गुणस्तरीय शिक्षाका लागि कलेज प्रतिबद्ध रहेको बताए । काठमान्डौबाट आएका प्रसिद्ध उत्प्रेरक (मोटिभेटर) डा. मिलन गैरेले विद्यार्थीहरूलाई शैक्षिक लक्ष्य कसरी प्राप्त गर्ने र तनाव व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा उत्प्रेरणा जगाएका थिए । गैरेले शिक्षादिप कलेजबाट पास भएर यस अघि विभिन्न क्षेत्रमा टप गरेका विद्यार्थीहरुको उदाहण दिदै नयाँ विद्यार्थीहरुलाई पनि यसरी नाम रोशन गर्न उप्रेरणा जगाए ।

कार्यक्रममा विज्ञान संकायका कोअर्डिनेटर नवीनकुमार रायले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा कलेजका शिक्षक तथा पदाधिकारीहरूले शैक्षिक वातावरण र कलेजको अनुशासनका बारेमा जानकारी गराएका थिए । सोही अवसरमा विद्यार्थीहरूले आकर्षक नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए भने नयाँ विद्यार्थीहरूले आफूले उच्च शिक्षाका लागि शिक्षादीप कलेज रोज्नुका कारणहरू समेत साटेका थिए । यस वर्ष कलेजको विज्ञान संकायमा मात्रै १ हजार १ सय ३५ जना नयाँ विद्यार्थी भर्ना भएका छन् ।
